७ श्रावण २०८३, बिहिबार

नेपालका अग्रज बैंकर नारायणदास मानन्धरको निधन



काठमाडौं । नेपाली बैंकिङ क्षेत्रका अग्रज बैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ । मानन्धरको मृत्यु आज बिहान १० बजे भएको हो ।

मानन्धरका परिवारमा एक पत्नी, एक छोरा र तीन छोरी छन् । परिवार स्रोतका अनुसार उनको अन्त्येष्टी आजै काठमाडौंको शोभाभगवतीमा गरिँदैछ ।

प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धर नेपालका प्रमुख बैंकरमध्ये एक थिए । उनले बैंकिङ क्षेत्रमा सशक्त नेतृत्व देखाउँदै प्राइम बैंक स्थापना गरेका थिए ।

मानन्धरले कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बंगलादेश बैंकमा पनि उच्च पदमा कार्य गरेका थिए । उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनसँग परामर्शदाता रूपमा काम गरेका थिए । उनको इमानदारी, कर्तव्यनिष्ठता र दूरदृष्टिको कारणले उनी एक सम्मानित बैंकरका रूपमा चिनिन्थे ।

केही समय युवक मावि र युथ क्याम्पसमा अध्यापन समेत गरेका मानन्धर धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रवन्धक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनमा रहेर लामो समय काम गर्नुका साथै तत्कालिन नेपाल बंगलादेश बैंक तथा लुम्बिनी बैंकको कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भूमिकामा रहेर अतुलनीय योगदान पुर्‍याएका छन्।

१२ वर्षको उमेरदेखि नै ध्यानमा तत्लीन मानन्धर श्री १००८ ब्रम्हवित परमहंस योगी सच्चितानन्द सरस्वती खप्तड बाबाका अनुयायी थिए । बाबाका थुप्रै कृतिहरुको प्रकाशन तथा प्रचारमा उल्लेख्य योगदान पुर्‍याएका मानन्धरले काठमाडौंको बूढानिलकण्ठमा बाबाको समाधि स्थल, शिव मन्दिर र ध्यानगृह निर्माणमा समेत अग्रणी भूमिका निर्वाह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्