२३ भदौ २०८३, मंगलबार

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान



काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्त र उनकी पत्नी कुमुदा पन्तले छोराको विहेमा भोज नगरी उक्त शीर्षकमा खर्च हुने रकम देवघाट धामस्थित गलेश्वर आश्रमलाई दानस्वरुप अर्पण दिएका छन् ।

शुक्रबार कान्छा छोरा सुयोग्यको कृति घिमिरेका साथ विवाह भएको थियो । उनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ४० लाख रुपैयाँको चेक गलेश्वर आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिलाई दिएका थिए ।

‘कमाउने त्यो, दिनलाई नै हो’ लाई आदर्श वाक्य मानेर उनले विवाह, व्रतबन्ध जस्ता कार्यको फजुल खर्च नगरी परोपकारी कार्यमा संलग्न संस्थालाई दिएका हुन् ।

यसअघि जेठा छोराको विहे गर्दा पनि उनले भोज नगरी सोबापत खर्च हुने ४० लाख रकमबाट २० लाख रुपैयाँ क्यान्सर केयर फाउन्डेसनलाई र अर्को २० लाख रुपैयाँ पुण्यार्जन फाउन्डेसनलाई दान गरेका थिए ।

गलेश्वर आश्रम अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले स्थापना गरेका हुन् । यो संस्था आध्यात्मिक साधना, सांस्कृतिक संरक्षण र सामाजिक सेवा गर्दै आएको छ ।


आश्रमले देवघाटधाममा वेद–वेदाङ्ग विद्यालय, यहाँ बसोबास गर्ने साधक सन्त–तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने गरेको छ । घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राख्ने गरेको छ ।

यहाँ वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई बास बस्न पुग्ने अतिथिगृह समेत सञ्चालमा छ ।

अतिथिगृहमा नि:शुल्क भोजन र बसोबाको सुविधा छ । अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।

आश्रमले अध्यात्म, संस्कृति संरक्षण र सामाजिक क्षेत्रमा प्रसंसनीय कार्यहरु गर्दै आएकोले सनातन धर्म, संस्कृति र संस्कारको विकास तथा जगेर्ना हेतु दान दिनका लागि आफूले उक्त आश्रम रोजेको पन्तले बताए । यो दानको उद्देश्य स्वर्गवासी मातापिताको स्मृतिमा परोपकारी कार्य गर्नु समेत रहेको उनले बताए ।