माघसम्म विकास खर्च निराशाजनक : लक्ष्यको १५ प्रतिशत मात्रै खर्च, चालु खर्च भने चुलिँदै « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

माघसम्म विकास खर्च निराशाजनक : लक्ष्यको १५ प्रतिशत मात्रै खर्च, चालु खर्च भने चुलिँदै



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना बितिसक्दा पनि सरकारको विकास खर्च (पूँजीगत खर्च) निकै न्यून देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार माघ मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको मात्र १५.२६ प्रतिशत विकास खर्च गर्न सकेको छ ।

सरकारले यस वर्ष विकास निर्माणका लागि कुल ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेकोमा माघसम्म ६३ अर्ब ७२ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

विकास खर्च सुस्त रहे पनि साधारण प्रकृतिको चालु खर्च भने उच्च देखिएको छ । ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको वार्षिक लक्ष्य राखिएको चालु खर्च माघसम्म ५ खर्ब ६२ अर्ब ३७ करोड (४७.६२ प्रतिशत) भइसकेको छ ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फको खर्च पनि ४६.७१ प्रतिशत पुगेको छ । यस शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोडको लक्ष्य रहेकोमा १ खर्ब ७५ अर्ब २७ करोड रुपैयाँ खर्च भएको तथ्याङ्क छ ।

समग्रमा सरकारको कुल बजेट खर्च ८ खर्ब १ अर्ब ३७ करोड रुपैयाँ भएको छ, जुन वार्षिक लक्ष्यको ४०.८ प्रतिशत हो । आम्दानी र खर्चबीच सवा १ खर्बको खाडल माघ मसान्तसम्म सरकारको आम्दानी र खर्चबीच ठुलो अन्तर देखिएको छ ।

सरकारले राजस्व, वैदेशिक अनुदान र अन्य माध्यमबाट ६ खर्ब ८२ अर्ब १६ करोड रुपैयाँ आम्दानी गरेको छ । तर, सोही अवधिमा खर्च भने ८ खर्ब १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

यसले गर्दा सरकारको ढुकुटीमा १ खर्ब १९ अर्ब २० करोड रुपैयाँको घाटा (खाडल) देखिएको छ । यो अभाव पूर्ति गर्न सरकारले आन्तरिक र बाह्य ऋण लिएर बजेट व्यवस्थापन गरिरहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्