सुनको मूल्य आकाशिँदा पनि ७ महिनामा २१ अर्ब २० करोडको आयात, टप १० मा स्मार्टफोन, मलदेखि इन्धनसम्म
काठमाडौं । विश्व बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ उचाइ कायम गरिरहेको भए पनि चालु आर्थिक वर्षको सात महिनामा नेपालमा २१ अर्ब रुपैयाँभन्दा बढीको सुन आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि माघ मसान्तसम्मको तथ्यांक अनुसार मुलुकको कुल आयात ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रुपैयाँ पुग्दा सुन मात्रै २१ अर्ब २० करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको भित्रिएको हो ।
यस अवधिमा भएको कुल आयातबाट राज्यले २ खर्ब ८० अर्ब ७६ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा आयात १३.६५ प्रतिशतले बढेसँगै राजस्व योगदानमा पनि वृद्धि देखिएको हो ।
मुलुक आर्थिक र चुनावी माहोलमा होमिएको समयमा यी तथ्यांकहरू सार्वजनिक भएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र पारिएकै बेला वैदेशिक व्यापारका यी चित्रहरूले अर्थतन्त्रको दिशा संकेत गरिरहेका छन् ।

टप १० आयातमा स्मार्टफोन, मलदेखि इन्धनसम्म
भन्सार विभागको तथ्यांक अनुसार आयात भएका सामानको पहिलो नम्बरमा भने काँचो भटमासको तेल रहेको छ । जुन चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७० अर्ब ९९ करोड ५६ लाख ५५ हजार रुपैयाँ बराबरको ४४ करोड ८३ लाख ८७ हजार ४९४ लिटर आयात भएको छ । विभागको तथ्यांक अनुसार तेल आयातबाट मात्र ३ अर्ब १४ करोड १९ लाख ६ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
दोस्रो नम्बरमा भने डिजेल रहेको छ । समीक्षा अवधिमा ६९ अर्ब ९१ करोड २२ लाख २१ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार ३९६ किलोलिटर डिजेल आयात भएको छ । डिजेल आयातबाट सरकारले सबैभन्दा धेरै अर्थात् ३० अर्ब ६६ करोड २७ लाख ५८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
तेस्रो नम्बरमा भने पेट्रोल परेको छ । ७ महिनाको अवधिमा ३८ अर्ब १३ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ४२ हजार ७८७ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट २५ अर्ब ७ करोड २१ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
७ महिनामा चौथो धेरै आयात हुनेमा एलपीजी (खाना पकाउने) ग्यास रहेको छ । यस अवधिमा ३१ अर्ब ८५ करोड ९ लाख ४८ हजार रुपैयाँ बराबरको ३२ करोड १० लाख ८९ हजार ६८५ केजी ग्यास आयात भएको छ। यसबाट ५ अर्ब ९४ करोड ३ हजार ३५९ रुपैयाँ राजस्व उठेको छ ।
समीक्षा अवधिमा बढी आयात भएको पाँचौँ नम्बरमा भने स्पन्ज आइरन रहेको छ । डन्डी उद्योगको कच्चा पदार्थको रूपमा ३१ अर्ब ९ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको ७४ करोड १७ लाख ५८ हजार ८०५ केजी स्पन्ज आइरन भित्रिएको छ । यसबाट ४ अर्ब ३९ करोड ४९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी, छैटौँ स्थानमा स्मार्टफोन रहेको छ । २६ अर्ब ६८ करोड ७३ लाख ३५ हजार रुपैयाँ बराबरको १४ लाख १४ हजार ९३८ थान मोबाइल सेट आयात हुँदा ४ अर्ब ९७ करोड ८० लाख ६५ हजार रुपैयाँ राजस्व उठेको छ ।
सातौँ स्थानमा भने सुन रहेको छ । मूल्य आकाशिए पनि ७ महिनामा २१ अर्ब २० करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ११३ ग्राम सुन आयात भएको छ । सुन आयातबाट २ अर्ब १२ करोड ८१ रुपैयाँ राजस्व संकलन भएको छ ।
आठौँ स्थानमा खेतीपातीका लागि आवश्यक डीएपी मल रहेको छ । २० अर्ब ८५ करोड १६ लाख ३१ हजार रुपैयाँ बराबरको १७ करोड ८४ लाख २०० केजी मल आयात भएको छ । यस्तै, नवौँ स्थानमा पनि कृषिजन्य मल नै रहेको छ । जुन १९ अर्ब ६९ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको २६ करोड ३९ लाख ९ हजार ८७१ केजी आयात भएको देखिन्छ । मल आयातमा भने सरकारले न्यून मात्र राजस्व प्राप्त गरेको छ ।
अन्तिम अर्थात् दशौँ नम्बरमा भने फलाम तथा स्टिलको पाता रहेको छ । १६ अर्ब ७० करोड ५३ लाख ५७ हजार रुपैयाँ बराबरको २२ करोड ६ लाख १७ हजार १२९ केजी यस्ता पाता आयात भएका छन् । यसबाट २ अर्ब ५६ करोड ८६ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
निर्याततर्फ १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपैयाँको कारोबार भए पनि उच्च आयातका कारण अर्थतन्त्रमा व्यापार घाटाको चाप कायमै देखिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा भएको यो व्यापारिक बढोत्तरीले बजारमा आर्थिक चलायमानता बढेको विश्लेषण गरिएको छ ।













