४२ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै टक्सार पिखुवा खोला हाइड्रोपावर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

४२ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै टक्सार पिखुवा खोला हाइड्रोपावर



काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आगामी फागुन २७ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही अनुरूप, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख कित्ता शेयर आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूका लागि छुट्याएको छ।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्येबाट १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरिनेछ। यसका अतिरिक्त, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ६० हजार ६१३ कित्ता शेयर सुरक्षित गरिएको छ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने समयसीमा अनुसार, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भने निष्काशन बन्द हुने मिति छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्