मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको स्वागत गर्दै सिबिफिनले भन्यो- नयाँ व्यवस्थाले संकुचित कर्जा विस्तारमा सहजता ल्याउनेछ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको स्वागत गर्दै सिबिफिनले भन्यो- नयाँ व्यवस्थाले संकुचित कर्जा विस्तारमा सहजता ल्याउनेछ



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षालाई सकारात्मक रूपमा लिएको छ।

राष्ट्र बैंकले अवलम्बन गरेका सावधानीपूर्ण, मापनयोग्य र स्थिरतामुखी दृष्टिकोण एवं नीतिगत कदमहरू स्वागतयोग्य रहेको सिबिफिनले जनाएको छ।

विश्वका उदीयमान अर्थतन्त्रहरूमा देखिएको क्रमिक सुधारको रणनीतिसँग मेल खाने गरी मूल नीतिगत मापदण्डहरूलाई यथावत राखिएकोमा सिबिफिनले खुसी व्यक्त गरेको छ। पछिल्लो परिवेशअनुसार लक्षित संरचनात्मक सुधारका कदमहरू अघि बढाइएकाले यसले मुलुकको वित्तीय स्थिरतालाई थप सुदृढ र सबल बनाउने संकेत गरेको परिसंघको विश्वास छ।

समीक्षामार्फत क्षेत्रगत कर्जाको दायरा विस्तार, लघु, घरेलु तथा साना उद्यम कर्जालाई प्रोत्साहन, र कार्यशील पूँजी व्यवस्थाको नगद प्रवाहमा आधारित मूल्याङ्कन जस्ता उदार व्यवस्थाहरू गरिएको छ।

यस्तै, लक्षित पुनर्संरचना सुविधा, विदेशी विनिमय जोखिममा सीमा वृद्धि र कालोसूची व्यवस्थामा देखाइएको लचकताले संकुचित बनिरहेको कर्जा प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको छ। यी कदमहरूले उत्पादनमूलक, निर्यातमूलक र रोजगारमूलक क्षेत्रमा लगानी बढाउन तथा आर्थिक क्रियाकलापलाई गति दिन सहयोगी सिद्ध हुने सिबिफिनले उल्लेख गरेको छ।

परिसंघले डिजिटल पूर्वाधारमा लगानी प्रोत्साहन र विद्युतीय भुक्तानी प्रणालीको तीव्र विस्तारका लागि चालिएका रणनीतिक पहलहरूको पनि प्रशंसा गरेको छ। यस्ता प्रयासहरूले नेपालको वित्तीय प्रणालीलाई विश्वव्यापी आधुनिकीकरणसँग तादाम्यता मिलाउन महत्वपूर्ण सहयोग पुग्ने सिबिफिनको भनाइ छ।

अल्पकालीन तरलता व्यवस्थापन र दीर्घकालीन संरचनात्मक सुधारबीच सन्तुलन कायम गर्दै संस्थागत सुशासन, विश्लेषणात्मक क्षमता अभिवृद्धि र जोखिम न्यूनीकरणलाई संयमताका साथ अघि बढाउनुपर्नेमा सिबिफिनले जोड दिएको छ। यसबाट समग्र बैंकिङ क्षेत्रको आधुनिकीकरण, दिगो विकास र अर्थतन्त्रको सवलीकरणमा रचनात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय/खराब कर्जा र गैरबैंकिङ सम्पत्तिमा भएको वृद्धि तथा तरलता व्यवस्थापनका चुनौतीहरूलाई सम्बोधन गर्न सरोकारवालासँगको छलफलका आधारमा राष्ट्र बैंकले आगामी दिनमा अझ निर्णायक नीतिगत कदम चाल्नेमा सिबिफिन विश्वस्त देखिएको छ।


प्रतिक्रिया दिनुहोस्