अपर ठूलोखोला जलविद्युतको विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो, १५ दिनपछि व्यावसायिक उत्पादन « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अपर ठूलोखोला जलविद्युतको विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो, १५ दिनपछि व्यावसायिक उत्पादन



म्याग्दी । बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ ।

रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो । आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६:०० बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिए ।

“नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो”, उनले भने, “परीक्षण सफल भएपछि १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ ।”

हालको सुक्खायाममा १३.८६ मेगावाट विद्युत् उत्पादन भएको आयोजना प्रमुख यादवले बताए

विसं २०८० मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइप लाइन र ३०० मिटर सर्च साफ्ट पाइप लाइन जडान, फेदीमा विद्युत्गृह निर्माण भएको छ । दुईवटा युनिट (टर्वाइन) रहेको विद्युत्गृह परिसरमा स्वीचयार्ड निर्माण भएको इन्जिनियर सञ्जीव न्यौपानेले बताउ ।


प्रतिक्रिया दिनुहोस्