रामचन्द्र संघई प्यानलबिनै वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने पक्का
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी रामचन्द्र संघई उम्मेदवार बन्ने पक्का भएको छ। देशभरका उद्यमी व्यवसायी एवं महासंघका पूर्वअध्यक्षहरूसँगको सल्लाह र छलफलपछि संघई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने निष्कर्षमा पुगेका हुन्।
विगत २२ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा निरन्तर क्रियाशील संघई महासंघका पूर्वउपाध्यक्ष हुन्। रविभक्त श्रेष्ठको पालादेखि महासंघमा काम गरेका संघई शेखर गोल्छाको कार्यकालमा एशोसिएटतर्फको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति थिए। त्रिवेणी ग्रुपका निर्देशकसमेत रहेका संघईले व्यवसायीको हकहितका पक्षमा लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए।
अहिले त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौँ उद्योगहरू सञ्चालनमा छन्। करिब १८ हजार श्रमिक परिवार यी सबै उद्योगमा आबद्ध छन्। साना तथा मझौला उद्यम व्यवसायमा पनि संघई संलग्न छन्। साना तथा मझौला उद्यमी व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे पूर्ण जानकार रहेको बताउँदै उनले यसको समाधानमा लागि पर्ने बताए।
उद्योगी व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महसुस गर्न सक्ने, रोजगारी सिर्जना गर्न सक्ने, उत्पादन बढाउन सक्ने एवं सरकारसमक्ष निजी क्षेत्रका समस्या समाधानमा पहल गर्न सक्ने नेतृत्व नै महासंघमा आवश्यक रहेको संघईले बताए।
नयाँ सरकारले निजी क्षेत्रसँग नजिक रहेर काम गर्न जरुरी रहेको र निजी क्षेत्रले पनि सरकारसँग मिलेरै काम गर्न आवश्यक भएको बताउँदै उनले यसका लागि ठोस नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिए।
लगानी वातावरण सुधार, निजी क्षेत्रको सुरक्षा र उद्योग प्रवर्द्धनका लागि समयसीमा सहितका काम अघि बढाउने सरकारको घोषणाले निजी क्षेत्र उत्साहित बनेको संघईको भनाइ छ। सत्तारुढ दलका सभापतिले संसद्को पहिलो सम्बोधनका क्रममा निजी क्षेत्रलाई आश्वस्त पार्दै गरेको सम्बोधनले समेत थप हौसला प्राप्त भएको भन्दै उनले नयाँ सरकारले जनविश्वासमा अडेर देश र जनताको पक्षमा काम गर्ने हो भने अबको ५ वर्ष नेपालका लागि स्वर्ण युग सावित हुने उल्लेख गरे।
महासंघको ६० औँ वार्षिक साधारणसभा चैत २९ र ३० गते काठमाडौंमा आयोजना हुँदैछ। साधारणसभाले निर्वाचित गरेको कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ।













