अमेरिकी बजारबिनै फस्टाउने बीवाईडीकाे दाबी: युरोपमा मात्रै १५६ प्रतिशतले बढ्यो बिक्री
काठमाडाैं । इरानमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको विश्वव्यापी वृद्धिसँगै विद्युतीय सवारी साधन (ईभी) को मागमा उल्लेख्य वृद्धि भएको छ।
यसै अवसरको फाइदा उठाउँदै चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी बीवाईडीले अमेरिकी बजारको पहुँच बिना नै आफू विश्वभर सफल हुन सक्ने दाबी गरेको छ।
बेइजिङ अटो शो २०२६ का क्रममा बीबीसीसँग कुरा गर्दै कम्पनीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले अमेरिकी बजारमा प्रवेश नपाए पनि बीवाईडीको व्यापार र सफलतामा कुनै आँच नआएको बताएकी छन्।
गत वर्ष टेस्लालाई पछि पार्दै विश्वकै सबैभन्दा धेरै विद्युतीय सवारी बिक्री गर्ने कम्पनी बनेको बीवाईडीले हाल एसिया, ब्राजिल, बेलायत र युरोपेली क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको छ।
“हामी आज अमेरिकी बजार बिना नै सफल छौँ र हाम्रो चुनौती भनेको अमेरिकी ग्राहक खोज्नु भन्दा पनि अन्य क्षेत्रबाट आएको उच्च मागलाई पूरा गर्नु हो,” उपाध्यक्ष लीले भनिन्।
पेट्रोलियम मूल्य वृद्धिका कारण उपभोक्ताहरूले दैनिक बचतका लागि विद्युतीय सवारी रोजिरहेकाले हाल कम्पनीलाई माग अनुसारको उत्पादन पुर्याउन समेत कठिन भइरहेको उनले जानकारी दिइन्।
प्रविधिमा फड्को मार्दै बीवाईडीले चार्जिङको समस्या समाधान गर्न ‘फ्ल्यास चार्जिङ’ प्रविधि सार्वजनिक गरेको छ। यो प्रविधिले केही मिनेटमै सयौँ किलोमिटरको यात्रा तय गर्ने क्षमता प्रदान गर्ने भएकाले यसलाई ईभीको क्षेत्रमा ‘गेम चेन्जर’ मानिएको छ।
चिनियाँ कम्पनीहरू अब सस्तो मूल्यका लागि मात्र नभई ब्याट्री क्षमता र सफ्टवेयर प्रणालीमा समेत विश्वभरका प्रतिस्पर्धीहरूलाई पछि पारिरहेका छन्। बीवाईडीले आफूलाई केवल कार कम्पनी मात्र नभई स्मार्टफोनका पार्टपूर्जा, सौर्य ऊर्जा र ब्याट्री भण्डारणको क्षेत्रमा समेत अग्रणी ‘इकोसिस्टम’ को रूपमा स्थापित गरेको छ।
यद्यपि, चीनको यो प्रगति भू-राजनीतिक तनाव र व्यापारिक प्रतिबन्धहरूका बीच गुज्रिरहेको छ। अमेरिकाले डाटा सुरक्षा र सरकारी अनुदानको विषय उठाउँदै चिनियाँ सवारीमाथि कडाइ गरे पनि अन्य अन्तर्राष्ट्रिय बजारमा चिनियाँ ब्रान्डहरूको लोकप्रियता बढ्दो छ।
बेइजिङ अटो शोमा चिनियाँ कम्पनीहरूले उड्ने कार र ह्युमनोइड रोबोट जस्ता अत्याधुनिक प्रविधि प्रदर्शन गरिरहँदा फक्सवागन र टोयोटा जस्ता स्थापित विदेशी कम्पनीहरू भने चिनियाँ बजारमा टिकिरहन स्थानीय कम्पनीहरूसँगै साझेदारी गर्न बाध्य भएका छन्।
चिनियाँ बजारभित्रको तीव्र प्रतिस्पर्धा र ‘प्राइस वार’ (मूल्य कटौतीको होड) ले केही चुनौती थपे पनि बीवाईडीको अन्तर्राष्ट्रिय व्यापार आक्रामक देखिएको छ। युरोपेली बजारमा मात्रै यस वर्षको पहिलो तीन महिनामा कम्पनीको बिक्री १५६ प्रतिशतले बढेको छ। उपाध्यक्ष लीका अनुसार, भविष्यमा तीव्र प्रतिस्पर्धाका कारण सबै कम्पनीहरू बजारमा टिक्न सम्भव छैन, तर बीवाईडीले आफ्नो प्रविधि र गुणस्तरको बलमा विश्वको नेतृत्व गरिरहने दृढता व्यक्त गरेकी छिन्।













