एनएमबि बैंकको नाफामा १३.२४ प्रतिशतको सुधार, ९ महिनामा कमायाे २ अर्ब ६८ करोड, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ माथि
काठमाडौँ । एनएमबि बैंकको खुद नाफामा सुधार देखिएको छ। बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (९ महिना) सम्ममा २ अर्ब ६८ करोड ७७ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
शुक्रबार बैंकले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.२४ प्रतिशतले बढेको हो। गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यता, बैंकको सञ्चालन नाफामा पनि सुधार आएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४ अर्ब २७ करोड २१ लाख ८७ हजार रुपैयाँ कायम भएको छ। बैंकको खुद ब्याज आम्दानी भने ४.४९ प्रतिशतले वृद्धि भई ७ अर्ब ३७ करोड ८० लाख २२ हजार रुपैयाँ पुगेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ७२ करोड ७७ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। बैंकले सम्भावित जोखिमका लागि गरेको यो व्यवस्थापन र सञ्चालन आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग पुर्याएको देखिन्छ।
वितरणयोग्य नाफातर्फ भने बैंकको ८६ करोड ४२ लाख २९ हजार रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा गत वर्षको ४.४७ प्रतिशतबाट केही बढेर ४.९५ प्रतिशत पुगेको छ।
हाल बैंकको चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ छ। बैंकको जगेडा कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ४० हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २ खर्ब ९७ अर्ब ८३ करोड २१ लाख रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ४३ अर्ब ८० करोड ३३ लाख रुपैयाँ कायम भएको छ।
हाल बैंकको प्रतिशेयर आम्दानी १७.९५ रुपैयाँ छ। यस्तै, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात १३.८४ गुणा कायम भएको छ।



















