९ महिनामा स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ८ करोड, लाभांश क्षमता १७ प्रतिशत माथि « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

९ महिनामा स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ८ करोड, लाभांश क्षमता १७ प्रतिशत माथि



काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नाफामा सामान्य संकुचन देखिएको छ। ९ महिनामा बैंकले २ अर्ब ८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।

बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

समीक्षा अवधिमा बैंकले २ अर्ब ८ करोड १६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ४.२३ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब १३ करोड ३७ लाख ७६ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले कुल ५ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको सोही अवधिको तुलनामा बैंकको ब्याज आम्दानी १०.३३ प्रतिशतले घटेको छ।

तर, बैंकको खुद फि तथा कमिसन आम्दानीमा भने ५.४१ प्रतिशतको बढोत्तरी आएको छ। योसँगै ९ महिनामा बैंकले १ अर्ब १० करोड २ लाख रुपैयाँ बढी कमिसन आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा समीक्षा अवधिमा २ अर्ब ९७ करोड १४ लाख रुपैयाँ कायम भएको छ।

यता, बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ३५ करोड ४७ लाख रुपैयाँ धनात्मक छ। यसका आधारमा बैंकले १७.६९ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब २ करोड ३६ लाख रुपैयाँ छ। बैंकले जगेडा कोषमा १० अर्ब ५५ करोड ४३ लाख रुपैयाँ राखेको छ। बैंकको खराब कर्जा सुधारिएर ०.८१ प्रतिशतमा झरेको छ। जबकि, गत आवको सोही अवधिमा भने १.४४ प्रतिशत रहेको थियो।

हाल बैंकको प्रतिसेयर आम्दानी २७.६४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.५९ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्