नेपाल भित्रियो एकोरको लाइफस्टाइल ब्राण्ड ट्राइब, सब्रिना होटेलसँग सम्झौता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल भित्रियो एकोरको लाइफस्टाइल ब्राण्ड ट्राइब, सब्रिना होटेलसँग सम्झौता



काठमाडाैं । विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोरको लाइफस्टाइल ब्रान्ड ट्राइब अब नेपालमा पनि आउने भएको छ। सब्रिना होटेल लिमिटेडले सो ब्राण्डलाई नेपाल ल्याउन लागेको हो।

यस सम्बन्धमा साब्रिना होटेल लिमिटेड र ट्राइब होटेलबीच भारतको राजधानी नयाँ दिल्लीमा सम्झौता भएको हो । सम्झौता अनुसार सब्रिना होटेलको काठमाडौँको बुढानिलकण्ठमा रहेको होटेल ट्राइब काठमाडाैं नामबाट संचालन हुने छ । हाल यो होटेल पाँचतारेमा अपग्रेड भईरहेको छ । यो ट्राइब ब्रान्डको नेपालमा पहिलो प्रोजेक्ट हुने छ ।

सब्रिना होटेलका अध्यक्ष निराजन थापाले एकोरसँग साझेदारी गरी नेपालमा ट्राइब ब्रान्ड ल्याउन पाउँदा अत्यन्त खुशी भएको बताए। उनले भने ‘काठमाडौंमा डिजाइन, आराम र समुदायलाई जोड्ने आधुनिक अतिथि सत्कारको बढ्दो माग छ र ट्राइब ब्रान्डले आधुनिक यात्रुहरूको त्यही आवश्यकतालाई राम्रोसँग पूरा गर्छ भन्ने हाम्रो विश्वास छ। यो विकासले उदीयमान ठाउँहरूमा फरक खालको अतिथि सत्कार सेवा दिने हाम्रो भिजनलाई प्रतिबिम्बित गर्छ’।

उनले होटेल अब ल्याण्डमार्क लाइफस्टाइल गन्तव्य बन्ने विश्वास व्यक्त गरे।

ट्राइब ब्रान्ड यसको आधुनिक डिजाइन, व्यावहारिक सुविधा, सामाजिक स्पेस र राम्रो मूल्यमा गुणस्तरीय अनुभवका लागि विश्वभर चर्चित छ। विश्वभर ट्राइब ब्रान्डका २७ होटेल संचालनमा छन् । भारत आउनु अघि नै ट्राइब ब्रान्ड नेपाल आएको हो। ट्राइबको उपस्थिति थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया लगायतका एसियाली देशमा छ।


प्रतिक्रिया दिनुहोस्