इन्धनको मूल्यवृद्धि र मन्दीबीच बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान स्थगित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इन्धनको मूल्यवृद्धि र मन्दीबीच बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान स्थगित



काठमाडौँ । विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको बुद्ध एयरको नेपालगञ्ज–पोखरा सिधा उडान स्थगित भएको छ। भारतबाट आउने धार्मिक पर्यटक घटेको र हवाई इन्धनको मूल्य बढेका कारण उडान एक महिनाका लागि बन्द गरिएको हो।

बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनितविक्रम शाहले मलमासका कारण भारतीय पर्यटक नआएकाले उडान स्थगित गर्नु परेको बताए। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०७८ साउनदेखि सातामा तीन दिन यो उडान हुँदै आएको थियो।

जम्मा ३५ मिनेटको यो हवाई सेवा बन्द भएपछि पश्चिम नेपालका यात्रु र पर्यटन व्यवसायी निरास भएका छन्। उडान रोकिएपछि अब यात्रुहरू फेरि सडकमार्गबाट कम्तीमा १४ घण्टा लामो यात्रा गर्न बाध्य हुनेछन्। नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले सरकारले चासो नदिँदा निजी क्षेत्रको पहलमा सुरु भएको उडान बन्द हुने अवस्थामा पुगेको बताए।

बुद्ध एयरले यस रुटमा १८ सिट क्षमताको ‘बीच क्राफ्ट १९०० डी सिरिज’ जहाजमार्फत सेवा दिँदै आएको थियो। यो उडान सुरु हुँदा पर्यटन क्षेत्रमा ठूलो उत्साह देखिएको थियो, जसले गर्दा पोखराबाट नेपालगञ्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र राराजस्ता पर्यटकीय गन्तव्य पुग्न सहज भएको थियो। साथै, भारतको लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पनि पोखरा आवतजावत गर्न सजिलो भएको थियो।

उडान सुरु हुँदा न्यूनतम भाडा रु ४ हजार ९३५ देखि अधिकतम रु ७ हजार ६३५ सम्म तोकिएको थियो र यात्रु बढेमा दैनिक उडान गर्ने योजना समेत थियो। तर, इन्धनको मूल्यवृद्धिका कारण भाडादर हेरफेर भएपछि यात्रुको चाप घटेकाले उडान स्थगित गर्नु परेको बुद्ध एयरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्