होमियोप्याथीलाई मूलधारमा ल्याउन सर्वोच्चको ७ बुँदे आदेश
काठमाडौँ । नेपालमा चिकित्सा पद्धतिको छनौट गर्न पाउनु नागरिकको मौलिक अधिकार भएको ठहर गर्दै सर्वोच्च अदालतले होमियोप्याथिक प्रणालीलाई थप व्यवस्थित र भरपर्दो बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
यस उपचार विधिलाई राज्यले उपेक्षा गर्न नमिल्ने भन्दै अदालतले यसको विकास र नियमनका लागि सात बुँदे विशेष निर्देशन दिएको हो।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत वैशाख चार गते गरेको उक्त फैसलामा स्वास्थ्यको अधिकारभित्र उपचार पाउनु मात्र नभई आफू अनुकूलको मान्यताप्राप्त पद्धति रोज्न पाउनु पनि समेटिने उल्लेख छ।
कुनै एक प्रणालीलाई मात्र काखिपेर अन्यलाई बेवास्ता गर्दा नागरिकको छनौटको स्वतन्त्रता हनन हुने अदालतको ठहर छ।
डाक्टर खगेन्द्र कटुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत होमियोप्याथी औषधिको प्रभावकारिता जाँच्न र रैथाने जडिबुटीको उपयोगबारे वैज्ञानिक अनुसन्धान तथा क्लिनिकल ट्रायल गराउन आदेश दिएको छ।
आधुनिक र वैकल्पिक चिकित्सा प्रणालीबीच समन्वय बढाउन अस्पतालहरूमा दुवैतर्फका चिकित्सकहरूले मिलेर काम गर्ने वातावरण बनाउनुपर्ने फैसलामा उल्लेख छ। यसका साथै यो पद्धतिको अनुगमन, दर्ता र चिकित्सकहरूको आचारसंहिता तय गर्न एउटा शक्तिशाली र स्वायत्त नियामक निकाय वा परिषद् गठनका लागि आवश्यक कानुन बनाउन सरकारलाई भनिएको छ।
ललितपुरको हरिहरभवनमा रहेको ऐतिहासिक पशुपति होमियोप्याथिक अस्पताललाई केन्द्रीय स्तरको विशिष्टिकृत अस्पतालका रूपमा स्तरोन्नति गर्न पनि अदालतले निर्देश गरेको छ। कानुनमा होमियोप्याथीलाई समेटिए पनि पर्याप्त बजेट नहुनु, संरचना भत्किनु र छुट्टै नियामक निकाय नहुनु जस्ता समस्यालाई सम्बोधन गर्न आवश्यक रहेको फैसलामा औँल्याइएको छ।
सरकारले यस क्षेत्रमा न्यून ध्यान दिँदा सर्वसाधारणको ठूलो रकम खर्च भइरहेको र प्रभावकारी उपचार पाउनबाट उनीहरू वञ्चित भएको निवेदकको जिकिरलाई अदालतले स्वीकार गरेको देखिन्छ।

विश्व स्वास्थ्य सङ्गठनले समेत परम्परागत र वैकल्पिक चिकित्सालाई प्रमाणमा आधारित बनाउन लगानी बढाउनुपर्ने रणनीति तय गरेको सन्दर्भमा नेपालमा भने यसको अवस्था दयनीय रहेको अदालतको विश्लेषण छ। आयुर्वेदको तुलनामा होमियोप्याथीलाई झनै पछाडि पारिएको र एउटै विभाग मातहत रहेका दुई पद्धतिबीच विभेद हुँदा यसको विकास ओझेलमा परेको फैसलामा उल्लेख छ।
प्राकृतिक स्रोतबाट बन्ने भएकाले यस्ता औषधिको कच्चा पदार्थको संरक्षण र दिगो उपयोगमा राज्य सजग हुनुपर्ने अदालतले जनाएको छ।
अदालतले स्वास्थ्य मन्त्रालयको कुल बजेटमा होमियोप्याथीका लागि छुट्टै शीर्षक राखी पर्याप्त रकम छुट्याउन र स्थानीय तहका आधारभूत स्वास्थ्य केन्द्रहरूमा समेत दरबन्दी सिर्जना गरी चिकित्सक र औषधि पुर्याउन आदेश दिएको छ।
नेपालका विश्वविद्यालयहरूमा यसको पठनपाठनका लागि पूर्वाधार बनाउन, छात्रवृत्तिको व्यवस्था गर्न र प्रचारप्रसारमा जोड दिन पनि भनिएको छ। राज्यका दुर्गम र विपन्न नागरिकले सहजै लाभ लिन सक्ने भएकाले यसलाई कागजी नीतिमा मात्र सीमित नराखी व्यवहारमा उतारेमा मात्र स्वास्थ्यको संवैधानिक हकले सार्थकता पाउने सर्वोच्चको निष्कर्ष छ।
होमियोप्याथी भनेको के हो ?
जर्मनीबाट सुरु भई हाल विश्वका झन्डै एक सयभन्दा बढी मुलुकहरूमा अभ्यासमा रहेको होमियोप्याथीलाई प्राकृतिक र सुरक्षित वैकल्पिक चिकित्सा पद्धतिका रूपमा चिनिन्छ। सन् १७९६ मा डा. सामुएल हानेमानले प्रतिपादन गरेको यो प्रणाली ‘लाइक क्युर्स लाइक’ अर्थात् जस्तो रोग हो, त्यस्तै प्रकृतिको सूक्ष्म तत्वबाट उपचार गर्ने सिद्धान्तमा आधारित छ।
यो विधिलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत सबैभन्दा बढी प्रयोग गरिने परम्परागत चिकित्सा प्रणालीमध्ये एकका रूपमा मान्यता दिएको छ।

मानव शरीरको आफ्नै रोग प्रतिरोधात्मक क्षमतालाई प्राकृतिक जडिबुटी र खनिज पदार्थको अति सूक्ष्म मात्रा प्रयोग गरेर सक्रिय बनाइने हुनाले, यसलाई चिकित्सा जगतमा एक अ-हानिकारक र सर्वसुलभ उपचार पद्धतिका रूपमा पहिचान गरिएको छ।
संसारका विभिन्न सभ्यताहरूले आ-आफ्नो भूगोल र संस्कृति अनुसार विकास गरेका रैथाने उपचार पद्धतिहरूको इतिहास निकै लामो र समृद्ध छ। चिनियाँ सभ्यताको ‘अकुपन्चर र हर्बल’ चिकित्सा, ग्रीक सभ्यताको ‘युनानी’ पद्धति, इजिप्टसियन र रैथाने अमेरिकी (नेभिज) हरूका प्राकृतिक उपचार विधिहरू यसका बलिया उदाहरण हुन्।
यी सबै प्रणालीहरूले मानिसलाई प्रकृतिको एक अङ्ग मानेर जडिबुटी, आहारविहार र शारीरिक ऊर्जाको सन्तुलन मिलाउने साझा दर्शन बोक्छन्।
यद्यपि, होमियोप्याथी र यी अन्य परम्परागत प्रणालीहरूबीच एउटा ठूलो सैद्धान्तिक भिन्नता छ। प्राचीन सभ्यताका चिकित्सा विधिहरू धेरैजसो अनुभव, स्थानीय वनस्पति र सांस्कृतिक विश्वासमा आधारित भएर शताब्दीयौँ लगाएर क्रमशः विकसित भएका हुन्।
तर, होमियोप्याथी भने अठारौँ शताब्दीको अन्त्यतिर युरोपको आधुनिक विज्ञानकै जगमा, एउटा निश्चित वैज्ञानिक प्रयोग र सिद्धान्त (लाइक क्युर्स लाइक) मार्फत स्थापित भएको तुलनात्मक रूपमा नयाँ र आधुनिक विधा हो।
नेपालको सन्दर्भमा सबैभन्दा बढी दाँजिने आयुर्वेद र होमियोप्याथी दुवै प्राकृतिक उपचारसँग जोडिए पनि यिनको दर्शन र औषधि बनाउने प्रक्रिया पूर्णतः फरक छ। वैदिक सभ्यताको धरोहर मानिने आयुर्वेदले शरीरमा ‘वात, पित्त र कफ’ को सन्तुलन बिग्रँदा रोग लाग्ने विश्वास गर्छ र यसले मुख्य रूपमा रोगको जरो पहिचान गरी जडिबुटीहरूको प्रत्यक्ष र ठोस रूप (काँढा, चूर्ण वा रस) प्रयोग गरेर उपचार गर्छ।
यसको विपरीत, होमियोप्याथीले रोगको नामभन्दा पनि बिरामीको मानसिक र शारीरिक लक्षणको समग्रता (टोटालिटी अफ सिम्पटम्स) लाई हेर्छ।
अझ रोचक कुरा त, आयुर्वेदमा वनस्पति र खनिजलाई उनीहरूको प्राकृतिक र प्रत्यक्ष रूपमै खुवाइन्छ, तर होमियोप्याथीमा औषधीय तत्वलाई पानी वा अल्कोहलमा यति धेरै पातलो (डाइल्युट) र प्रवलिकृत (पोटेन्टाइज) गरिन्छ कि त्यसमा मूल तत्वको भौतिक अंश निकै न्यून हुन्छ र त्यसको सूक्ष्म ऊर्जाले मात्र शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई ब्युँझाउने काम गर्छ।
















