नयाँ ब्याट्री प्रविधिमा चीनको फड्को: बीवाईडीले दर्ता गर्यो सोलिड-स्टेट ब्याट्रीको नयाँ पेटेन्ट
चिनियाँ ब्याट्री उद्योगले सन् २०२७ सम्ममा सोलिड-स्टेट ब्याट्रीको प्रारम्भिक उत्पादन सुरु गर्ने तयारी गरिरहँदा अग्रणी कम्पनी बीवाईडीले ब्याट्रीको सञ्चालन क्षमता र मजबुती बढाउने नयाँ प्रविधिको पेटेन्ट दर्ता गराएको छ।
काठमाडौँ । विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले सोलिड-स्टेट ब्याट्रीका लागि प्रयोग हुने एउटा नयाँ प्रविधिको पेटेन्ट दर्ता गराएको छ। चिनियाँ सञ्चारमाध्यम सिनाका अनुसार चीनको सम्पूर्ण ब्याट्री उद्योग नै सल्फाइडमा आधारित सोलिड-स्टेट ब्याट्रीको विकासमा लागिपरेका बेला बीवाईडीको यो नयाँ कदम बाहिर आएको हो।
चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासनले प्रकाशन गरेको विवरण अनुसार यो पेटेन्ट ‘कम्पोजिट सोलिड इलेक्ट्रोलाइट मेम्ब्रेन’ र यसको निर्माण विधि, सोलिड-स्टेट ब्याट्री तथा ब्याट्री प्याकसँग सम्बन्धित छ।
यस प्रविधिमा साना र ठूला दुवै प्रकारका इनअर्गानिक सोलिड इलेक्ट्रोलाइट कणहरूलाई पोलिमर इलेक्ट्रोलाइट फाइबर नेटवर्कको लेपनसँग मिसाइएको हुन्छ। यो विशेष संरचनाले ब्याट्रीभित्र रहने इलेक्ट्रोलाइट मेम्ब्रेनको आयोनिक चालकता र मेकानिकल शक्तिमा सुधार ल्याउने दाबी गरिएको छ।
यद्यपि यस पेटेन्ट कागजातमा ब्याट्रीको ऊर्जा घनत्व, चार्जिङ क्षमता, यसको आयु, उत्पादन लागत वा व्यावसायिक उत्पादनको निश्चित समय तालिकबारे भने केही खुलाइएको छैन।
गत अप्रिल महिनामा बीवाईडीका मुख्य वैज्ञानिक लियान युबोले कम्पनीको सोलिड-स्टेट ब्याट्री विकास कार्य एउटा महत्त्वपूर्ण मोडमा पुगेको बताएका थिए। तर यसको व्यावसायिक उत्पादनमा अझै पनि इन्जिनियरिङ जटिलता, लागत नियन्त्रण र उत्पादनको गुणस्तर कायम राख्ने जस्ता चुनौतीहरू बाँकी नै रहेको उनको भनाइ थियो।
उनले उद्योगहरूले ब्याट्रीका साना सेलहरू मात्र सुधार्नुको सट्टा यसको समग्र प्रणाली विकासमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए। बीवाईडीले यसअघि सन् २०२७ को आसपासमा यस प्रविधिको प्रारम्भिक उत्पादन सुरु गर्ने र १० हजार पटकसम्म चार्ज गर्न सकिने तेस्रो पुस्ताको सोडियम-आयन ब्याट्री विकास गर्ने योजना सार्वजनिक गरेको थियो।
चीनमा सोलिड-स्टेट ब्याट्री निर्माणको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। मार्च महिनामा सीएएलबी कम्पनीले बढी ऊर्जा घनत्व भएको सोलिड-स्टेट ब्याट्रीको नमुना प्रस्तुत गरेको थियो भने चेरी कम्पनीले पनि सन् २०२७ सम्ममा गाडीहरूमा यसको परीक्षण गर्ने लक्ष्य राखेको छ।
अर्को ठूलो कम्पनी सीएटीएलले पनि सल्फाइडमा आधारित सोलिड-स्टेट ब्याट्रीको पेटेन्ट दर्ता गर्दै २०२७ सम्ममा प्रारम्भिक उत्पादन थाल्ने बताएको छ। अर्कोतर्फ जीएसी कम्पनीले प्रमाणीकरण परीक्षणका लागि साना ब्याचहरूमा यस्ता ब्याट्रीहरूको उत्पादन सुरु गरिसकेको छ।
ब्याट्री जडान सम्बन्धी तथ्याङ्कहरू हेर्दा सन् २०२५ र २०२६ को अवधिमा बीवाईडी अझै पनि मुख्य रूपमा एलएफपी ब्याट्री उत्पादनमै केन्द्रित देखिन्छ।
सन् २०२६ को अप्रिल महिनामा बीवाईडीको ब्याट्री जडान परिमाण १६.८ प्रतिशत बजार हिस्सासहित १०.४९ गिगावाट आवर पुगेको थियो, जुन अघिल्लो वर्षको मे महिनामा २२.५ प्रतिशत बजार हिस्सासहित १२.८४ गिगावाट आवर थियो। त्यति बेला बीवाईडीले जडान गरेका ब्याट्रीहरू पूर्ण रूपमा एलएफपी प्रविधिका मात्रै थिए।













