नेप्सेमा थपियो सोपान फर्मास्युटिकल्सको १ करोड ७१ लाख कित्ता सेयर, ओपनिङ रेन्ज कति?
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्सको साधारण सेयर (आइपीओ) आधिकारिक रूपमा सूचीकृत भएको छ।
नेप्से र औषधि उत्पादक कम्पनी सोपान फर्मास्युटिकल्सबीच शुक्रबार सूचीकरणसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएसँगै यसको सेयर दोस्रो बजारमा प्रवेश गरेको हो।
यो सम्झौतापछि कम्पनीको कुल १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेको प्रणालीमा थपिएको छ।
कम्पनीले नेप्सेमा सूचीकृत गराएको कुल सेयरमध्ये १ करोड २८ लाख ७० हजार कित्ता संस्थापक सेयर रहेको छ। त्यस्तै, बाँकी ४२ लाख ९० हजार कित्ता साधारण सेयर हो।
कम्पनीले आफ्नो कुल जारी पुँजीको २५ प्रतिशत हिस्सा बराबरको यो साधारण सेयर यसअघि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
सूचीकरण प्रक्रिया पूरा भएसँगै सोपान फर्मास्युटिकल्सको सेयर आउँदो सोमबारदेखि दोस्रो बजारमा औपचारिक रूपमा किनबेच सुरु हुनेछ।
नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ९२ रुपैयाँ १५ पैसादेखि अधिकतम २७६ रुपैयाँ ४५ पैसासम्मको सुरुवाती मूल्य रेन्ज (ओपनिङ रेन्ज) तोकेको छ।
सोमबारको विशेष प्रि-ओपन सेसनमा यही मूल्य दायराभित्र रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।


















