इप्पानका अध्यक्ष डाँगीद्वारा पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता « Arthapath.com
३ असार २०८३, बुधबार

इप्पानका अध्यक्ष डाँगीद्वारा पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा डाँगीलाई स्वागत गर्दै पद हस्तान्तरण गरेका हुन्। पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष डाँगीले अधिवेशनका क्रममा देखिएका मतभेद अब समाप्त भइसकेको उल्लेख गर्दै ऊर्जा क्षेत्रलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले निर्वाचनको प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रियाको हिस्सा भए पनि नेतृत्व चयनसँगै सबै पक्ष एक ठाउँमा उभिएको बताए। अब कार्यसमितिका सदस्यहरूलाई जिम्मेवारी र अधिकारसहित कार्यविभाजन गरेर संस्थालाई थप प्रभावकारी ढंगले सञ्चालन गरिने उनको भनाइ थियो। डाँगी यसअघि इप्पानका तीन कार्यसमितिमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्। चौथो कार्यकालमा भने उनी संस्थाको नेतृत्वमा पुगेका हुन्।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा अत्यन्त जिम्मेवार हुनुपर्नेमा जोड दिए। इप्पानका कुनै पनि पदाधिकारी वा सदस्यको अभिव्यक्तिले सम्पूर्ण ऊर्जा क्षेत्रलाई असर पार्ने भएकाले पर्याप्त जानकारी र संस्थागत समन्वयपछि मात्रै धारणा सार्वजनिक गर्नुपर्ने उनले बताए। कार्कीले आफ्नो नेतृत्वकालमा उठाइएका अधिकांश ऊर्जा क्षेत्रका मुद्दा राजनीतिक दलहरूको घोषणापत्रमा समेटिन सफल भएको उल्लेख गर्दै अब नयाँ कार्यसमितिले ती विषय कार्यान्वयन गराउन निरन्तर दबाब सिर्जना गर्नुपर्ने धारणा राखे।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले नेतृत्व परिवर्तन भए पनि ऊर्जा क्षेत्रका साझा एजेन्डामा सबै पक्षको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे। उनले निवर्तमान नेतृत्वले स्थापित गरेको योगदान र विरासतलाई अगाडि बढाउन नयाँ कार्यसमिति प्रतिबद्ध रहेको बताए।

करिब ७०० ऊर्जा उत्पादक कम्पनी आबद्ध रहेको इप्पानको नयाँ नेतृत्व गत जेठ २९ गते सम्पन्न निर्वाचनबाट चयन भएको थियो। नयाँ कार्यसमितिले असार १ गते सपथ ग्रहण गरेपछि बुधबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्न थालेको हो।


प्रतिक्रिया दिनुहोस्