बालकुमारीमा एमएडब्लु वृद्धिको नयाँ ईभी वर्कसप उद्घाटन « Arthapath.com
१० असार २०८३, बुधबार

बालकुमारीमा एमएडब्लु वृद्धिको नयाँ ईभी वर्कसप उद्घाटन



काठमाडौं। नेपालमा डिपल, नाम्मी र सेरेस विद्युतीय सवारीसाधन (ईभी)को आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा नयाँ ईभी वर्कसप उद्घाटन गरेको छ।

वर्कसपको उद्घाटन एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोङफेङ मोटर्सका दक्षिण एसिया क्षेत्रीय बिक्री निर्देशक हे जिक्सिन, क्षेत्रीय सेवा प्रबन्धक ली सिनचुन तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा गरेका हुन्।

कम्पनीका अनुसार नयाँ वर्कसपमार्फत डिपल, नाम्मी र सेरेसका ग्राहकलाई बिक्रीपछिको सेवा थप व्यवस्थित र प्रभावकारी रूपमा प्रदान गरिनेछ। करिब १५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको वर्कसपमा ९ वटा सर्भिस बे रहेका छन्। यहाँ २४ जना प्रमाणित ईभी प्राविधिक कार्यरत रहनेछन्, जसबाट दैनिक ३६ वटासम्म विद्युतीय सवारीसाधनलाई सेवा प्रदान गर्न सकिने कम्पनीले जनाएको छ।

वर्कसपमा ईभी ब्याट्री परीक्षण (डायग्नोस्टिक) प्रणाली, स्पेयर पार्ट्सको व्यवस्था, प्राविधिकहरूको तालिमका लागि छुट्टै प्रशिक्षण कक्ष तथा ग्राहकका लागि लाउञ्जको सुविधा रहेको कम्पनीले जनाएको छ।

यसका साथै काठमाडौं उपत्यकाभित्र पिकअप तथा ड्रप सेवा, फास्ट ट्र्याक सर्भिस, २४सै घण्टा ब्रेकडाउन सहायता तथा समर्पित सेवा हटलाइन सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्