नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी,
काठमाडौं। विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (ग्रेट वाल मोटर्स) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ। काठमाडौंस्थित द प्लाजामा आयोजित विशेष समारोहबीच गाडी सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका प्रमुख बजारमध्ये एकका रूपमा छनोट गरिएको छ। ‘डिजाइन्ड विथ इन्टेलिजेन्स, सेप्ड बाइ एलिगेन्स’ अवधारणामा आधारित यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको आवश्यकता, सडकको अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ ईभी सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार यो गाडीले सुरक्षित, स्मार्ट र दिगो यात्राको अनुभव प्रदान गर्नेछ।
ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
गाडीको प्रमुख विशेषतामध्ये एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज रहेको छ। साथै, २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजी जस्ता सुविधा उपलब्ध छन्।
सुरक्षाका हिसाबले ओरा ५ ईभीले ५-स्टार एएनक्याप र ५-स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन तथा ३३ वटा स्टोरेज स्पेस उपलब्ध छन्।
कम्पनीका अनुसार जीडब्लुएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित छ र हालसम्म १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। ३५ वर्षभन्दा बढीको अनुभव, अनुसन्धान तथा विकासमा गरिएको लगानी र उत्पादन गुणस्तरका कारण कम्पनी विश्वका अग्रणी अटोमोबाइल ब्रान्डमध्ये एकका रूपमा स्थापित भएको दाबी गरिएको छ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई लक्षित गर्दै विश्वस्तरीय प्रविधि, उच्च सुरक्षा र प्रिमियम अनुभव नेपाली ग्राहकसमक्ष ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। कम्पनीले ओरा ५ ईभीले नेपाली विद्युतीय सवारी बजारमा स्मार्ट, सुरक्षित र वातावरणमैत्री यातायातको नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।












