साताको सेयर बजारः उतारचढावबीच साढे १८ अर्बको कारोबार, नेप्से परिसूचकमा सामान्य गिरावट « Arthapath.com
२० असार २०८३, शनिबार

साताको सेयर बजारः उतारचढावबीच साढे १८ अर्बको कारोबार, नेप्से परिसूचकमा सामान्य गिरावट



काठमाडौं । नेपाली सेयर बजारका लागि यो साता उतारचढाव र तीव्र प्रतिस्पर्धात्मक रह्यो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताभरिका पाँचै कारोबार दिनमा लगानीकर्ताहरूबीच खरिदबिक्रीको निकै रोचक प्रतिस्पर्धा देखियो ।

जसका कारण बजारले कुनै एक निश्चित दिशा लिन नसके पनि कारोबार रकममा भने उत्साहजनक सुधार देखिएको छ । साताभर कुल १८ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । समग्रमा बजारले गिरावट तर्फको यात्रा तय गरे पनि बजारको गहिराई र लगानीकर्ताको आकर्षण भने बलियो रहेको यस साताको तथ्यांकले पुष्टि गर्दछ ।

यो साताभर नेप्से परिसूचकमा केवल ४ अंकको सामान्य गिरावट देखियो, जसलाई बजारको भाषामा ’करेक्सन’ वा ’पर्ख र हेर’ को अवस्थाका रूपमा बुझ्न सकिन्छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २,६५३.४० अंकमा बन्द भएको नेप्से, यस साताको अन्तिम दिन शुक्रबार पनि सोही विन्दु अर्थात् २,६५३.४० अंकमै कायम रहन पुग्यो ।

तर साताको सुरुवाती दिनहरूको गिरावटलाई गणना गर्दा बजारमा सामान्य दबाब स्पष्ट महसुस गरिएको थियो । साताका कुल ५ कारोबार दिनमध्ये २ दिन बजारमा हरियाली छायो भने ३ दिन परिसूचक राताम्मे बन्न पुग्यो ।

ठूला र संस्थागत लगानीकर्ताहरू पर्ख र हेरको रणनीतिमा रहँदा बजारले नयाँ उचाइ लिन नसके पनि कारोबार रकमले भने बजारको जग बलियो रहेको संकेत गरेको छ ।

कुन दिन कस्तो थियो नेप्से ?

साताको पहिलो कारोबार दिन सोमबार बजारमा केही सुस्ती देखियो। सो दिन नेप्से परिसूचक १६.५४ अंकले ओरालो लाग्दै २,६३२.९६ विन्दुमा खुम्चियो । सोमबार ३५१ कम्पनीका ४४ हजार ९४२ पटकको कारोबारमार्फत २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँ बराबरको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर खरिदबिक्री भएको थियो ।

साताको दोस्रो दिन मंगलबार भने बजारमा ’पहिरो’ नै गयो । नेप्से परिसूचक २४.६३ अंकले ओरालो लागेर २,६०८.३३ विन्दुमा झ¥यो । तर, बजार ओरालो लागे पनि कारोबार संख्या र रकममा भने उछाल आयो । मंगलबार ३६५ कम्पनीको ७९ हजार २८६ पटकको कारोबारमा ३ अर्ब २५अयमभ करोड ७५ लाख ८ हजार १४ रुपैयाँ बराबरको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच भयो ।

लगातार दुई दिनको ओरालो यात्रापछि तेस्रो दिन बुधबार भने बजारले लय समात्यो। बुधबार नेप्सेमा ४४.५९ अंकको ’उत्कृष्ट उछाल’ आउँदै परिसूचक २,६५२.९३ विन्दुमा उक्लियो । सो दिन ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर ५६ हजार ८५० पटकको कारोबार मार्फत ३ अर्ब ८६ करोड १८ लाख ३४ हजार ४१० रुपैयाँमा खरिदबिक्री भयो ।

चौथो दिन बिहीबार पनि बजारको वृद्धिले निरन्तरता पायो । बिहीबार परिसूचक ८.७८ अंकले बढेर २,६६१.७१ विन्दुमा पुग्यो । यस दिन ४१ हजार १३१ पटकको कारोबारमा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरको ८९ लाख ६४ हजार २२३ कित्ता सेयर कारोबार भयो ।

साताको अन्तिम दिन शुक्रबार भने बजारमा पुनः सामान्य गिरावट देखियो। शुक्रबार नेप्से परिसूचक ८.३० अंकले घट्दै २,६५३.४० विन्दुमा ओर्लिएर साताको सुखद अन्त्य गर्न सकेन । शुक्रबार कारोबार रकम भने साताकै उच्च अर्थात् ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँ पुग्यो, जसमा ३४५ कम्पनीका ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर ४६ हजार २३४ पटक किनबेच भएका थिए ।

यो साताको बजारले लगानीकर्ताहरूलाई कतिपय दिन निराश बनाए पनि बढ्दो कारोबार रकमले आगामी साता बजार पुनः सकारात्मक दिशामा अघि बढ्ने बलियो आधार तय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्