घरजग्गा बजारमा ’यू–टर्न’: ६.४२ प्रतिशतले बढ्यो कारोबार, काठमाडौंमा मात्र साढे २ गुणाको वृद्धि « Arthapath.com
२३ असार २०८३, मंगलबार

घरजग्गा बजारमा ’यू–टर्न’: ६.४२ प्रतिशतले बढ्यो कारोबार, काठमाडौंमा मात्र साढे २ गुणाको वृद्धि



काठमाडौं । लामो समयदेखि शिथिल बनेको नेपालको घरजग्गा बजारमा पछिल्लो समय उत्साहजनक सुधारको संकेत देखिएको छ । विगतका त्रैमासहरूमा निरन्तर मन्दीको चपेटामा परेको यो क्षेत्र चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा बलियो ब्याक–अपका साथ तङ्ग्रिन थालेको हो ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनले घरजग्गा व्यवसायमा देखिएको लामो संकुचन क्रमश: हट्दै गएको र बजार चलायमान बन्न थालेको प्रस्ट पारेको छ ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार राष्ट्रिय स्तरमै घरजग्गाको कुल कारोबार संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ । जबकी अघिल्लो वर्ष यसै अवधिमा यस्तो कारोबार संख्या ४.५२ प्रतिशतले ऋणात्मक रहेको थियो ।

त्यस्तै, घरजग्गाको मुख्य सूचक मानिने लिखत पारित कारोबार संख्यामा पनि सुधार आउँदै ०.६२ प्रतिशतको सामान्य वृद्धि दर्ता भएको छ । यसभित्र पनि राजीनामा कारोबारको संख्या त झन् १२.१७ प्रतिशतले उकालो लागेको छ । जुन अघिल्लो वर्ष ३.२६ प्रतिशतले घटेको थियो । यसले बजारमा वास्तविक क्रेता र लगानीकर्ताहरू बिस्तारै फर्किन थालेको बलियो आधार प्रदान गर्दछ ।

आर्थिक गतिविधि बढेसँगै बजारमा पैसाको बहाव (तरलता) पनि बढेको देखिन्छ । समीक्षा अवधिमा कुल १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । गत वर्षको यसै अवधिमा यो कारोबार जम्मा १ खर्ब ७ करोड रुपैयाँमा खुम्चिएको थियो ।

कारोबार रकममा आएको यो ठुलो फड्कोले बजारमा आत्मविश्वास कति बलियो बन्दै गएको छ भन्ने देखाउँछ । यसैको परिणामस्वरुप राज्यको कोषमा दाखिला हुने राजस्वमा २३.७२ प्रतिशतको सुधार आएको छ भने पुँजीगत लाभकर संकलनमा समेत ३१.४२ प्रतिशतको लोभलाग्दो वृद्धि देखिएको छ ।

यद्यपि, बैंकहरूले रियल इस्टेट क्षेत्रमा प्रवाह गर्ने कर्जा विस्तारमा भने केही सतर्कता अपनाएको देखिन्छ । समीक्षा अवधिमा आवासीय सहित कुल घरजग्गा कर्जा प्रवाह ५.५५ प्रतिशतले मात्र बढेको छ । जबकी गत वर्ष यसको वृद्धिदर ७.५२ प्रतिशत थियो ।

प्रादेशिक रूपमा हेर्दा घरजग्गा बजारको यो चहलपहल निकै असमान र केन्द्रिकृत छ । वाग्मती प्रदेशले कारोबारको नेतृत्व गरिरहेको छ । जहाँ राजीनामा कारोबार संख्या सबैभन्दा बढी अर्थात् ३३.०१ प्रतिशतले बढेको छ ।

यसको ठीक विपरीत मधेश प्रदेशमा भने घरजग्गा कारोबार अझै सुस्त छ । जहाँ ४.७९ प्रतिशतले कारोबार घटेको छ । कुल कारोबार मूल्यका आधारमा पनि वाग्मती प्रदेश १३१.५२ प्रतिशतको अतुलनीय वृद्धिका साथ अग्रस्थानमा रहँदा मधेश प्रदेश जम्मा २२.६७ प्रतिशतमा सीमित देखिएको छ । समग्र देशैभर भने २.५ आनादेखि १० आना क्षेत्रफलसम्मका प्लटहरू सबैभन्दा बढी रुचाइएका छन् ।

महानगरपालिकाहरूको तथ्याङ्क हेर्दा काठमाडौं महानगरपालिकाले सबै रेकर्ड तोडेको छ । काठमाडौंमा घरजग्गा कारोबारको कुल मूल्य अकल्पनीय रूपमा २२३.१२ प्रतिशतले बढेको छ । कारोबार संख्याका आधारमा पनि काठमाडौँ १०८.४२ प्रतिशतले अगाडि छ ।

काठमाडौंपछि क्रमश: पोखरा (८२.१५ प्रतिशत), ललितपुर (७३.८१ प्रतिशत) र वीरगन्ज (३१.०७ प्रतिशत) को बजार चलायमान भएको छ ।

उपमहानगरपालिका तर्फ भने बुटवलले बाजी मारेको छ । जहाँ कारोबार संख्या ५६.७९ प्रतिशतले बढेको छ । यद्यपि, तराईको कलैया उपमहानगरपालिकामा कारोबार संख्या ६.९५ प्रतिशत र नेपालगन्जमा कारोबार भएको क्षेत्रफल ६८.२९ प्रतिशतले घट्नुले देशका केही क्षेत्रमा अझै पनि आर्थिक शिथिलता बाँकी नै रहेको संकेत गर्छ ।

वित्तीय बजारको सहज तरलता र घट्दो ब्याजदरको प्रत्यक्ष लाभ घरजग्गा क्षेत्रले लिन थालेको स्पष्ट देखाउँछ ।


प्रतिक्रिया दिनुहोस्