२६०० को मनोवैज्ञानिक विन्दुमा नेप्से: साताभरिमा २४ अर्बको कारोबार हुँदा साढे ५२ अंकले घट्यो बजार
काठमाडौं । नेपाली सेयर बजार यो साता निकै उतारचढावपूर्ण र दबाबयुक्त रहन पुग्यो । अघिल्लो साताको शुक्रबारमा २६५३.४० विन्दुमा रहेको बजार यो साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा ५२.६२ अंकले घटेर २६००.७८ विन्दुमा खुम्चिन पुगेको छ ।
साताभर बजारले औसतमा दैनिक १०.५२ अंकको गिरावट व्यहोरेको छ । बजार परिसूचक लगातार ओरालो लागे पनि साताभर कुल कारोबार रकम भने निकै उत्साहजनक अर्थात् २४ अर्ब २५ करोड ७४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । यस साताको समग्र बजार प्रवृत्तिले लगानीकर्ताहरूमा संशय र कौतुहहल दुवै पैदा गरिदिएको छ ।
यस्तो खालको बजारको अवस्थाले ’पर्ख र हेर’ को प्रवृत्ति र ठूला खेलाडीहरूको पोर्टफोलियो व्यवस्थापनलाई संकेत गर्छ । साताभर कुल ४ करोड ४९ लाख ३४ हजार ८ सय २ कित्ता सेयर ३ लाख २२ हजार ९ सय ३० पटकको कारोबारमार्फत किनबेच भएका छन् ।
बजारमा दैनिक औसत कारोबार ४ अर्ब ८५ करोड १४ लाख ९८ हजार रुपैयाँ बराबर हुनुले बजार घट्दा पनि खरिदकर्ताहरू सक्रिय नै रहेको स्पष्ट पार्छ। परिसूचक ओरालो लागे पनि कारोबार रकममा आएको यो उछालले बजार तत्कालै ठूलो अंकले क्र्यास हुने सम्भावना नरहेको र केवल स्वस्थ करेक्सनको बाटोमा हिँडिरहेको देखाउँछ ।
यद्यपि, २६०० को मनोवैज्ञानिक विन्दुमा बजार आइपुग्नुले आउँदो साता लगानीकर्ताहरू थप सचेत बन्नुपर्ने आवश्यकतालाई औंल्याएको छ ।
दैनिक बजार प्रदर्शनको समीक्षा गर्दा यस साताको सुरुवात निराशाजनक तरिकाले भएको थियो । सोमबार बजार २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा खुम्चियो । जहाँ ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँको मात्र कारोबार भयो ।
तर, मंगलबार बजारमा एकाएक हरियाली छायो र नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुग्यो । त्यस दिन कारोबार रकम पनि बढेर ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँ पुगेको थियो ।
मंगलबारको यो सुधार धेरै दिन टिक्न सकेन । बुधबार नेप्से ३०.०९ अंकले घट्दै २६२१.५९ विन्दुमा ओर्लियो भने कारोबार रकम ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ रह्यो ।
गिरावटको यो शृङ्खला बिहीबार पनि जारी रह्यो । जहाँ बजार १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा बन्द हुँदा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भयो ।
साताको अन्तिम दिन शुक्रबार भने बजार १.१३ अंकको सामान्य गिरावटसँगै २६००.७८ विन्दुमा ओर्लिएर थामियो । रोचक कुरा के छ भने, शुक्रबार परिसूचक झिनो अंकले घटे पनि कारोबार रकममा भने भारी वृद्धि भई ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँ पुग्यो। जुन साताकै सबैभन्दा उच्च कारोबार हो। यस दिन ३५९ वटा कम्पनीको कारोबार भएको थियो ।













