बन्दुक बिसाएपछि उद्यमको हतियार, कसरी देशैभरि उद्यमी जन्माउँदैछ नेपाली सेना? « Arthapath.com
२९ असार २०८३, सोमबार

बन्दुक बिसाएपछि उद्यमको हतियार, कसरी देशैभरि उद्यमी जन्माउँदैछ नेपाली सेना?



ब्यारेकको चौघेरा र सीमा सुरक्षामा मात्र होइन, नेपाली सेना अहिले मुलुकभर उद्यमशीलताको एउटा ठूलो लहर सिर्जना गर्न व्यस्त छ। सैनिक कल्याणकारी बोर्डको यो महाअभियानले हजारौँ नेपालीलाई जागिरे मानसिकताबाट मुक्त गराई सफल उद्यमी र रोजगारदाता बनाइरहेको छ।

काठमाडौँ । मुलुकको सार्वभौमिकता र सुरक्षाको अग्रपंक्तिमा उभिने नेपाली सेनाले अहिले देशको अर्थतन्त्रलाई बलियो बनाउन अर्को एउटा शान्त तर निकै शक्तिशाली क्रान्ति गरिरहेको छ।

ब्यारेकमा रहँदा देशका लागि रगत र पसिना बगाएका सैनिकहरू अवकाशपछि समाजमा अनुत्पादक नहोऊन् बरु उद्यमशीलताका संवाहक बनून् भन्ने ध्येयका साथ नेपाली सेनाले नयाँ मिसन चलाइरहेको छ।

सैनिक कल्याणकारी बोर्डमार्फत सञ्चालित यो महाअभियानले देशैभरि नयाँ-नयाँ उद्यमीहरू जन्माइरहेको छ, जसले गर्दा नेपाली सेनाको भूमिका केवल सुरक्षामा मात्र नभई देशको आर्थिक समृद्धिमा समेत बब्बाल र अनुकरणीय देखिन थालेको छ।

यस अभियानको सबैभन्दा बलियो खम्बाका रूपमा नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्यूट उभिएको छ। अवकाश भएर जाने सकलदर्जालाई समाजमा सम्मानजनक र उत्पादनशील जीवन जिउन सहयोग पुर्‍याउने उद्देश्यले यो इन्स्टिच्यूटले देशलाई आवश्यक प्राविधिक र व्यावसायिक जनशक्ति उपहार दिइरहेको छ।

आर्थिक वर्ष ०८२/८३ मा मात्रै यस इन्स्टिच्यूटबाट विल्डिङ्ग ईलेक्ट्रिसियन, प्लम्बर, कार्पेण्टर, पेन्टर, मेसन वेल्डर र जनरल कुक लगायतका आधुनिक बजारले खोजेका ट्रेडहरूमा ५ सय १२ जनाले उच्चस्तरीय तालिम प्राप्त गरे। नेपाली सेनाको तथ्यांक अनुसार हालसम्म यस इन्स्टिच्यूटबाट मात्रै ४ हजार ९ सय ९३ जनाले विभिन्न सिपमूलक तालिम प्राप्त गरिसकेका छन्।

यी जनशक्तिहरू अहिले देशका विभिन्न कुनाकाप्चामा पुगेर उद्यमशीलताको जग बसाल्न र विकास निर्माणमा खटिन थालेका छन्।

महिला सशक्तीकरणको बलियो मोर्चा

सेनाको यो कल्याणकारी सोच केवल पुरुष सैनिकहरूमा मात्र सीमित छैन। बहालवाला एवं भूतपूर्व सैनिकहरूका श्रीमती, एकल महिला, ४५ वर्ष उमेर ननाघेका आमा तथा अविवाहित छोरीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल बनाउन सेनाले ठूलो लगानी गरेको छ।

सैनिक श्रीमती संघको विशेष पहल र सैनिक कल्याणकारी कोषको छाताभित्र रही छाउनीमा सञ्चालन गरिएको ‘नेपाली सेना व्यावसायिक तालिम केन्द्र’ महिला सशक्तीकरणको एउटा बलियो उदाहरण बनेको छ। यो केन्द्र केवल तालिम दिने थलो मात्र होइन, यसले महिलाहरूलाई सीधै व्यवसायको मालिक समेत बनाइरहेको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार अहिलेसम्म यस केन्द्रबाट २ हजार ९ सय ८ जना महिलाले विभिन्न व्यावसायिक ट्रेडमा तालिम लिइसकेका छन्। यसको सबैभन्दा सुखद पक्ष के छ भने, तालिम लिएकामध्ये ४ सय ७४ जना महिलाहरूले बजारमा आफ्नै नयाँ व्यवसाय सञ्चालन गरेर समाजमा उद्यमशीलताको उदाहरणीय नेतृत्व गरिरहेका छन्।

सेनाको यो प्रयासले नेपाली महिलाहरूलाई आत्मनिर्भर मात्र बनाएको छैन, उनीहरूको सामाजिक र आर्थिक हैसियतमा समेत ऐतिहासिक रूपान्तरण ल्याइदिएको छ।

कृषि र लघु उद्यमशीलताको महाकुम्भ

नेपाली सेनाले देशको माटो र अर्थतन्त्रको मर्मलाई बुझेर कृषि तथा पशुपालन क्षेत्रमा पनि अभूतपूर्व लगानी गरेको छ।

रोजगारी सिर्जना र कृषि उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पुर्‍याउने वृहत् उद्देश्यका साथ नेपाली सेना कृषि तथा पशुविज्ञान अध्ययन संस्थान र मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्न नेपाली सेना ई.एम.ई. पोलिटेक्निक महाविद्यालय जस्ता प्रतिष्ठित संस्थाहरू स्थापना गरिएका छन्।

यी संस्थाहरूले देशमा प्राविधिक शिक्षाको खडेरीलाई चिर्न मद्दत गरिरहेका छन्।

कल्याणकारी बोर्डको तथ्यांकलाई केलाउने हो भने यसको प्रभाव अझ चकित पार्ने खालको देखिन्छ। कृषि तथा व्यावसायिक पशुपंक्षी, तरकारी खेती र लघु उद्यमशीलता जस्ता प्रत्यक्ष जीवनसँग जोडिएका क्षेत्रहरूमा हालसम्म १९ हजार ९ सय २५ जनाले उच्चस्तरको तालिम प्राप्त गरिसकेका छन्।

तालिमको प्रभावकारिता कति बब्बाल छ भने, सिकेकामध्ये ६ हजार ८ सय ७१ जनाले तालिम सकिनेबित्तिकै आफैँ व्यवसाय सुरु गरेर गाउँ-गाउँमा रोजगारीको नयाँ अवसर सिर्जना गरिरहेका छन्। यसले देशैभरि एउटा ठूलो उद्यमशीलताको सञ्जाल खडा गरिदिएको छ।

सपनालाई साकार पार्ने आर्थिक इन्धन

सफलताको कथा सिप र तालिममा मात्रै सीमित हुँदैन, व्यवसाय सुरु गर्नका लागि आर्थिक लगानी पनि उत्तिकै आवश्यक पर्छ।

यही आवश्यकतालाई महसुस गर्दै नेपाली सेनाले नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा रोजगारीमूलक व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण व्याजदरमा लघुवित्त कर्जा तथा सुलभ घरकर्जा प्रदान गर्दै आएको छ। यो आर्थिक सहयोगले विपन्न र मध्यमवर्गीय सैनिक परिवारका लागि वरदान सावित भएको छ।

सेनाको तथ्यांक अनुसार वि.सं. २०८३ साल ज्येष्ठ मसान्तसम्ममा मात्रै ३३ हजार ४ सय ३८ जना हितग्राहीले कुल ७ अर्व ८५ करोड १० लाख रुपैयाँ लघुवित्त कर्जा प्राप्त गरिसकेका छन्।

यसका अतिरिक्त, सोही बैंकसँगको सहकार्यमा कृषि तथा आफूले सिकेका सिपको आधारमा न्यूनतम् व्याजदरमा परियोजना सुरक्षणमै ‘उद्यमशील महिला कर्जा’ सुविधा समेत उपलब्ध गराइएको छ। यसरी कर्जा प्राप्त गर्नेहरूमा १० हजार १ सय ६७ जना बहालवाला सैनिक र २३ हजार २ सय ७१ जना अवकाश प्राप्त सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहनेहरू छन्।

यो विशाल वित्तीय परिचालनले नेपालका हजारौँ परिवारलाई परम्परागत गरिबीको चक्रबाट बाहिर निकालेर देशको अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेलेको छ।

नेपाली सेनाको यो कल्याणकारी अभियानले ब्यारेकबाहिरको नेपाललाई पनि उत्तिकै समृद्ध, सुरक्षित र आत्मनिर्भर बनाउँदै लाने उद्देश्य बोकेको सैनिक प्रवक्ता बस्नेत बताउँछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्