विस्तार हुँदै छ लक्जरी ब्राण्ड टोयोटा, नारायणगढमा खुल्यो विश्वस्तरीय थ्री एस शोरुम
चितवन, नवलपुर र मकवानपुरका ग्राहकलाई समेट्ने गरी नारायणगढमा टोयोटाको अत्याधुनिक र एकीकृत सेवा केन्द्र सञ्चालनमा आएको छ।
काठमाडौँ । नेपालमा टोयोटा गाडीको आधिकारिक बजार व्यवस्थापन सम्हाल्दै आएको युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले बागमती र गण्डकी प्रदेशको रणनीतिक केन्द्र मानिने चितवनमा आफ्नो सेवाको दायरा थप फराकिलो बनाएको छ।
कम्पनीले अटोवेज पोखरा प्रालिलाई आफ्नो आधिकारिक साझेदार नियुक्त गर्दै नारायणगढमा एउटै छानामुनिबाट सम्पूर्ण सेवा दिने गरी आधुनिक थ्री एस शोरुम सञ्चालनमा ल्याएको हो।
यो नयाँ केन्द्रको स्थापनासँगै अब यस क्षेत्रका सवारीप्रेमीहरूले टोयोटाका गाडी खरिद गर्न, अन्तर्राष्ट्रिय स्तरको मर्मतसम्भार पाउन र गाडीका मौलिक पार्टपुर्जाहरू लिनका लागि विभिन्न ठाउँमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
यस नयाँ केन्द्रले चितवन मात्र नभएर छिमेकी जिल्लाहरू नवलपुर र मकवानपुरसम्मका ग्राहकलाई समेट्ने लक्ष्य राखेको छ। नारायणगढमा खुलेको यो शोरुमले मोफसलकै आर्थिक गतिविधिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
विशेषगरी ढुवानी, कृषि र पर्यटन क्षेत्रको तीव्र विकास भइरहेको यो भूगोलमा स्तरीय गाडी र त्यसको दिगो मर्मत सेवाको माग उच्च रहँदै आएको सन्दर्भमा यो विस्तार निकै अर्थपूर्ण देखिन्छ।
१५ वर्षको यात्रा र नयाँ भरोसा
सन् २०११ मा भरतपुरको सानो क्षेत्रबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको अटोवेजले विगत डेढ दशकमा स्थानीय ग्राहकसँग गहिरो र अटुट सम्बन्ध स्थापित गरिसकेको छ। अटोवेज पोखरा प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले ग्राहकको अटुट विश्वास नै आफ्नो व्यवसायको जग भएको विचार व्यक्त गरे।
उनले उद्योग, यातायात र कृषिको तीव्र विकास भइरहेको चितवन क्षेत्र नेपालकै सबैभन्दा बढी सम्भावना बोकेको अटोमोबाइल बजारका रूपमा उदायो भने। सोही कारण पनि ग्राहकलाई सवारी खरिद गरेपछिको अनुभव उत्कृष्ट र झन्झटमुक्त बनाउन आफूहरूले यो अन्तर्राष्ट्रिय मापदण्डको सेवा केन्द्र स्थापना गरेको उनले स्पष्ट पारे।

विश्व बजारमा टोयोटाको साख यसको टिकाउपन र सुरक्षाका कारण सधैँ माथि रहने गर्छ। वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज (भोइथ)का अध्यक्ष सुरज वैद्यले टोयोटाले सधैँ गुणस्तर, सुरक्षा र उपभोक्ताको भरोसालाई केन्द्रमा राखेर काम गर्ने बताए।
चितवनमा गरिएको यो लगानी र सेवा विस्तार ग्राहकप्रतिको दीर्घकालीन प्रतिबद्धताको बलियो प्रमाण भएको उनले उल्लेख गरे। यस क्षेत्रमा आधुनिक थ्री एस सुविधा आउनाले स्थानीय गाडी धनीहरूलाई ढुक्क बनाउने मात्र नभई समग्र अटोमोबाइल बजारलाई अझ बढी गतिशील र प्रतिस्पर्धी बनाउने विश्वास लिइएको छ।













