चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने हङसी ब्रान्ड नेपालमा, नाइमामा विद्युतीय एसयूभी सार्वजनिक हुने
काठमाडौं । चिनियाँ राष्ट्रपति चढ्ने लक्जरी कार ब्रान्ड ‘हङसी’ नेपाली बजारमा प्रवेश गर्ने भएको छ। चिनियाँ सरकारी स्वामित्वको एफएडब्लू (एफएडब्लू) ग्रुपअन्तर्गतको प्रिमियम ब्रान्ड हङसीका विद्युतीय एसयूभी आगामी नेपाल मोबिलिटी एक्स्पो (नाइमा) २०२६ मा औपचारिक रूपमा सार्वजनिक गरिने भएको हो।
हङसी ब्रान्डलाई नेपालमा एडभान्स्ड अटोमोबाइल प्रालिले भित्र्याएको हो। कम्पनीले केही समयअघि हङसीसँग आधिकारिक बिक्रेताको सम्झौता गरेपछि नेपालका लागि विद्युतीय सवारी आयात प्रक्रिया सुरु गरेको थियो। यसअघि कम्पनीले फ्रान्सेली ब्रान्ड रेनोका सवारीसाधन बिक्री गर्दै आएको छ।
कम्पनीले प्रारम्भिक चरणमा हङसीका एक वा दुई विद्युतीय एसयूभी मोडल नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीको वेबसाइटअनुसार हङसीसँग ई–एचएस९ र ई–एचएस७ एसयूभी तथा ई–क्यूएम५ र ई–एच७ सेडान गरी चार विद्युतीय मोडल उपलब्ध छन्। तीमध्ये सुरुवातमा ई–एचएस९ र ई–एचएस७ नेपाली बजारमा ल्याउने तयारी गरिएको छ।
नेपाल आउने मोडलमा कुन क्षमताको ब्याट्री र मोटर हुनेछ भन्ने विवरण सार्वजनिक गरिएको छैन। यद्यपि यसको प्रारम्भिक मूल्य ६० देखि ६५ लाख रुपैयाँको हाराहारीमा रहने अनुमान गरिएको छ।
हङसीले पेट्रोल, हाइब्रिड र पूर्ण विद्युतीय (बीईभी) गरी तीनवटै पावरट्रेनमा सवारी उत्पादन गर्दै आएको छ। पछिल्ला वर्षहरूमा भने कम्पनीले विद्युतीय सवारीमा विशेष जोड दिएको छ।
६ दशकको इतिहास बोकेको हङसी
हङसीको स्थापना सन् १९५८ मा चीनको पहिलो अटोमोबाइल उत्पादक कम्पनी एफएडब्लू ग्रुपले गरेको थियो। चिनियाँ भाषामा ‘हङसी’को अर्थ ‘रातो झण्डा’ हुन्छ। तत्कालीन चिनियाँ नेता माओत्सेतुङको पहलमा चीनकै आफ्नै लक्जरी कार विकास गर्ने उद्देश्यले यसको सुरुवात गरिएको थियो।
लामो समयसम्म हङसी चीनका शीर्ष सरकारी अधिकारी तथा विदेशी राष्ट्रप्रमुखका लागि मात्र प्रयोग हुने सवारीका रूपमा परिचित थियो। सन् २०१८ पछि कम्पनीले निजी ग्राहकलाई लक्षित गर्दै व्यावसायिक बजारमा विस्तार गरेको हो।
सन् २०२५ मा हङसीले विश्वभर ४ लाख ६० हजारभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.७ प्रतिशतले बढी हो। तीमध्ये करिब १ लाख ४९ हजार नयाँ ऊर्जा (न्यु इनर्जी) सवारी रहेका छन्।
हाल हङसीले चीनको प्रिमियम बजारमा बीएमडब्ल्यू, मर्सिडिज–बेन्जजस्ता स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। कम्पनीले युरोप, मध्यपूर्व र दक्षिणपूर्वी एसियामा पनि आफ्नो उपस्थिति विस्तार गर्दै लगेको छ। युरोपमा यसको फ्ल्यागसिप विद्युतीय एसयूभी ई–एचएस९ लाई आकर्षक डिजाइनका कारण ‘चिनियाँ रोल्स–रोयस’ भनेर समेत चिनिने गरिएको छ।
कम्पनीले सन् २०२८ सम्म युरोपका २५ देशमा १५ नयाँ विद्युतीय तथा हाइब्रिड मोडल सार्वजनिक गर्ने र २०० भन्दा बढी डिलर नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।













