बिवाइडीको ‘ड्रागन आर्मर ब्याट्री’ : आफ्नै प्रविधिबाट सुरक्षित र भरपर्दो विद्युतीय सवारीको आधार
काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता उपभोक्ताको प्रमुख चासोको विषय बनेको छ। अधिकांश सवारी उत्पादक कम्पनीले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने गरे पनि बिवाइडी भने आफ्नै भगिनी कम्पनी फिनड्रिम्स ब्याट्री मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्ने विश्वका सीमित कम्पनीमध्ये एक हो। यसले ब्याट्रीको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि कम्पनीलाई पूर्ण नियन्त्रण कायम गर्न सहयोग गरेको छ।
नेपालमा हालै सार्वजनिक गरिएको बिवाइडी एट्टो ५ विद्युतीय स्पोर्ट्स युटिलिटी सवारीमा प्रयोग गरिएको ड्रागन आर्मर ब्याट्री पनि फिनड्रिम्स ब्याट्रीले नै विकास तथा उत्पादन गरेको अत्याधुनिक ब्याट्री हो। लामो समयको अनुसन्धान र प्रविधि विकासपछि तयार पारिएको यस ब्याट्रीमा आगो तथा पानी प्रतिरोधी उच्च सुरक्षा, लामो दूरीसम्म चल्ने क्षमता, छिटो चार्ज हुने सुविधा र उत्कृष्ट कार्यसम्पादनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
‘ड्रागन आर्मर’ नाम यसको विशेष आन्तरिक संरचनाका कारण राखिएको हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन्। यसले विशेष प्रकारको तलतर्फ हावा तथा ताप बाहिर निकाल्ने प्रणाली निर्माण गर्छ। कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भएमा उक्त प्रणालीले त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने काम गर्छ।
कम्पनीका अनुसार यही संरचनाका कारण ड्रागन आर्मर ब्याट्रीले थप सुरक्षात्मक कवचका रूपमा काम गर्दै यात्रुको सुरक्षालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।













