२ भदौ २०८३, मंगलबार

पर्यटनकाे गुलाबी आँकडाले टार्न सकेने आतिथ्य उद्योगकाे सङ्कट:  तारे होटलहरूको आम्दानीमा पहिरो



काठमाडौँ। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा आजभोलि दिनहुँजसो उत्रिने विदेशी पर्यटकहरूको लाम देख्दा नेपालको पर्यटन उद्योगमा खुसीको बहार छाएझैँ लाग्छ।

नेपाल पर्यटन बोर्ड र अध्यागमन विभागको पछिल्लो आँकडाले पनि यही कुरालाई पुष्टी गर्छ ।

गत आर्थिक वर्षमा १२ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए। सन् २०२६ को पहिलो सात महिनामै साढे ६ लाखभन्दा बढी विदेशीले नेपालको माटोमा पाइला टेकिसकेका छन्। गत वर्षको तुलनामा यो करिब ७ प्रतिशतको वृद्धि हो।

तर, अध्यागमनको यो गुलाबी तथ्याङ्कले नेपालका पाँचतारे होटलहरूभित्र भने खुसी ल्याउन सकेको छैन। पर्यटक आगमनको ग्राफ उकालो लाग्दा राजधानीका पाँचतारे होटलहरूको ढुकुटी भने झन्‌झन्‌ रित्तिँदै गएको छ।

नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा सूचीकृत आतिथ्य क्षेत्रका अग्रणी कम्पनीहरूको पछिल्लो वित्तीय प्रतिवेदनले एउटा यस्तै तथ्य उजागर गरेकाे छ।

राजधानीका प्रमुख ५ वटा तारे हाेटलकाे वित्तिय तथ्यांक नियाल्दा एउटा होटललाई अपवाद मान्ने हो भने, बाँकी होटलहरू कि त भारी घाटाको चक्रव्यूहमा फसेका छन्, कि त नाफाको ओरालो यात्रामा छन्।

पर्यटक बढ्दा पनि पाँचतारे होटलहरू किन टाट पल्टिने अवस्थामा पुग्दैछन्? आतिथ्य क्षेत्रका पाँच दिग्गज कम्पनीहरूको पछिल्लो वित्तीय तस्बिर यस्तो छ:

हयात रिजेन्सीको ओरालो यात्रा: ४६ करोड नाफाबाट एकै वर्षमा ७० करोड नोक्सानी

काठमाडौँको बौद्धस्थित विशाल र भव्य परिसरमा फैलिएको तारागाउँ रिजेन्सी होटल्स (हयात रिजेन्सी) को वित्तीय तस्बिर अहिले सबैभन्दा बढी चिन्ताजनक बनेको छ। अघिल्लो वर्ष ४६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएर लगानीकर्तालाई दङ्ग बनाएको यो होटल यस वर्ष ह्वात्तै ७० करोड ५७ लाख रुपैयाँ खुद नोक्सानीको दलदलमा भासिएको छ।

होटलको व्यवसाय कतिसम्म खुम्चियो भन्ने प्रमाण यसको सञ्चालन आम्दानीले दिन्छ। अघिल्लो वर्ष १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको हयातले यस वर्ष जम्मा १७ करोड १९ लाख रुपैयाँ मात्रै आम्दानी गर्न सक्यो। एकातिर सञ्चालन आम्दानीमा पहिरो जानु र अर्कातिर भौतिक सम्पत्ति क्षति तथा मान्यता रद्दबापत एकै वर्ष ९९ करोड ७ लाख रुपैयाँभन्दा बढीको विशाल नोक्सानी हिसाबमा देखाउनुपर्दा हयातको वित्तीय आधार खलबलिएको हो।

कम्पनी घाटामा गएपछि प्रतिसेयर आम्दानी ३५ रुपैयाँभन्दा बढी ऋणात्मक बनेको छ भने सेयरधनीहरूको कुल सम्पत्तिको मूल्य पनि ३ अर्ब १२ करोडबाट घटेर २ अर्ब ३२ करोडमा झरेको छ।

संकटका बीच ‘सोल्टी’ को चमत्कार: नाफा १६ प्रतिशतले बढाउँदै ७६ करोड पार

पाँचतारे आतिथ्य क्षेत्रमा चौतर्फी निराशा र घाटाको बादल मडारिइरहँदा काठमाडौँको सोल्टीमोडस्थित ऐतिहासिक सोल्टी होटल लिमिटेड भने एक्लो अपवाद बनेर उभिएको छ। सबैजसो प्रतिस्पर्धीहरू रातो खाता (घाटा) बुझाउन बाध्य भइरहेका बेला सोल्टीले आफ्नो नाफा १६.५१ प्रतिशतले बढाएर ७६ करोड ११ लाख रुपैयाँ पुर्याएको छ।

सोल्टीको यो सफलताको रहस्य यसको आम्दानीमा भएको लगातारको वृद्धि हो। गत वर्ष सोल्टीले कुल ३ अर्ब १४ करोड ८० लाख रुपैयाँको व्यावसायिक कारोबार गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतभन्दा बढी हो।

खाद्य तथा पेय पदार्थ बिक्रीमा ५४ करोड र कर्मचारी व्यवस्थापनमा ६७ करोड रुपैयाँभन्दा बढी खर्च गर्दा पनि सोल्टीले ९२ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा निकाल्न सफल भयो। निक्षेप र वित्तीय लागतमा न्यून खर्च (जम्मा ७१ लाख) भएकै कारण सोल्टीले वित्तीय संकटको यो दौरमा पनि आफ्ना सेयरधनीहरूलाई दरिलो प्रतिफल दिने क्षमता सुरक्षित राखेको छ।

र्‍याडिसनको नाफा २०८ प्रतिशतले घटेर ऋणात्मक

काठमाडौँको मुटु मानिने लाजिम्पाटमा सञ्चालित ओरियन्टल होटल लिमिटेड (र्‍याडिसन होटल) पनि वित्तीय संकटको चपेटाबाट उम्किन सकेन। अघिल्लो वर्ष ४ करोड ३७ लाख रुपैयाँ खुद नाफामा रहेको यो पुरानो पाँचतारे होटल यस वर्ष ४ करोड ७४ लाख रुपैयाँ खुद घाटा व्यहोर्न बाध्य भएको छ। होटलको नाफामा २०८ प्रतिशतभन्दा बढीको तीव्र गिरावट आएको हो।

गत वर्ष होटलको कुल सञ्चालन आम्दानी ४.६० प्रतिशतले घटेर १ अर्ब ११ लाख रुपैयाँमा सीमित भयो। आम्दानी घट्नु एकातिर थियो भने अर्कोतिर खर्चको बोझले होटललाई थिचिरह्यो।

होटलले वर्षभरिमा कर्मचारी खर्चबापत ३० करोड, खाना तथा पेय पदार्थ खपतमा १२ करोड र प्रशासनिक शीर्षकमा १७ करोड रुपैयाँ खर्च गर्‍यो। त्यसमाथि ऋणको ब्याजबापत मात्रै १३ करोड ९६ लाख रुपैयाँ बुझाउनुपरेपछि र्‍याडिसनको नाफाको ग्राफ ऋणात्मक बन्न पुगेको हो। यससँगै प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ऋणात्मक बनेको छ।

बुढानीलकण्ठको फरेस्ट इन: व्यापार ३९ प्रतिशतले बढे पनि २४ करोड घाटा

शिवपुरी राष्ट्रिय निकुञ्जको हरियाली काखमा अन्तर्राष्ट्रिय ब्रान्ड ‘हलिडे इन रिसोर्ट’ को नाममा सञ्चालित होटल फरेस्ट इन लिमिटेडको कथा झन् अनौठो छ। यो होटलको व्यापार र ग्राहक आगमनमा ३९.६३ प्रतिशतको उछाल आयो र आम्दानी १९ करोड ३ लाख रुपैयाँ पुग्यो। तर, व्यापार बढे पनि होटलको घाटा भने घटेन, उल्टै ४२ प्रतिशतले बढेर २४ करोड ४५ लाख रुपैयाँ पुग्यो!

अत्यधिक व्यापार हुँदाहुँदै पनि यो रिसोर्ट आखिर किन घाटामा गयो त? यसको मुख्य जड हो-विशाल ऋण र त्यसको भारी ब्याज!

कम्पनीले वर्षभरिमा कमाएको १९ करोड आम्दानीमध्ये १५ करोड ५४ लाख रुपैयाँ त बैंकको ब्याज (वित्तीय लागत) बुझाउँदैमा सकियो। बाँकी खर्चका लागि आम्दानी नपुगेपछि होटल थप घाटामा धकेलिएको हो। ४ अर्बभन्दा बढीको गैर-चालू सम्पत्ति र २ अर्ब चुक्ता पुँजी भएको यो नयाँ रिसोर्टका लागि ऋणको ब्याज नै घाँटीको पासो बनेको छ।

हयात प्लेसको संघर्ष: आम्दानीमा सुधार, तर १७ करोड नोक्सानी कायमै

गोल्यान समूहद्वारा सोल्टीमोडमा सञ्चालित अत्याधुनिक पाँचतारे होटल हयात प्लेस (सिटी होटल लिमिटेड) ले पनि घाटाकै निरन्तरता बेहोरेको छ। तर, अन्य होटलहरूको तुलनामा यसले भने आफ्नो घाटाको आकार केही सानो बनाएको छ। गत वर्ष १७ करोड ३० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको यो होटलले अघिल्लो वर्षको (१९ करोड ८४ लाख) तुलनामा घाटा १२.७७ प्रतिशतले घटाएको छ।

गत वर्ष होटलको कुल सञ्चालन आम्दानी ३.९४ प्रतिशतले बढेर ५० करोड ६० लाख रुपैयाँ पुगेको छ। कुल आम्दानी ५३ करोडभन्दा बढी भए पनि सञ्चालन खर्च, ह्रासकट्टी (१३ करोड ९० लाख) र बैंकको ब्याज दायित्व (१८ करोड ५८ लाख) अत्यधिक हुँदा होटल खुद नाफामा जान सकेन।

हाल रु. ३ अर्ब १ करोड चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोष ११ करोड ६६ लाख रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर आम्दानी ५.७४ रुपैयाँ ऋणात्मक स्थितिमा छ।