२ आश्विन २०८३, शुक्रबार

एकपछि अर्को पराजयको धक्काले ट्रम्पको सनक उत्कर्षमा, यी हुन् उनलाई रन्थन्याउने ५ ठूला झट्का



काठमाडौँ । आफ्नो वर्चस्व कमजोर पार्ने गरी लगातार भइरहेका राजनीतिक प्रहारबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सनक फेरि उत्कर्षमा पुगेको छ। आफ्नै महत्त्वाकाङ्क्षी योजनाहरू एकपछि अर्को गर्दै भताभुङ्ग बनेपछि उनी यतिबेला चरम आक्रोश र असन्तुष्टिले रन्थनिएका छन्।

सत्तामा रहने राष्ट्रपतिका लागि सबै रणनीति एकैपटक भत्किने कठिन समय आउँछ भनिन्थ्यो, ट्रम्पको हकमा अहिले ठीक त्यही भइरहेको छ।

घरेलु राजनीतिदेखि अदालत, केन्द्रीय बैंक, इरान युद्ध र अन्तर्राष्ट्रिय सम्बन्धसम्मका घटनाले उनको राजनीतिक शक्ति र निर्णय क्षमतामाथि प्रश्न उठाउने अवस्था सिर्जना भएकाे छ।

ट्रम्पका महत्त्वाकाङ्क्षी योजनाहरू एकपछि अर्को गर्दै भताभुङ्ग कसरी भए भन्ने बुझाैँ,

मध्यावधि चुनावअघि हुलाँकमार्फत मतदानलाई कडाइ गर्ने ट्रम्पको योजनालाई सर्वोच्च अदालतले नै राेक लगाइदिएकाे छ। आफ्नै पहिलो कार्यकालमा आफूले रोजेरै नियुक्त गरेका न्यायाधीशहरूले नै धाेका दिएपछि ट्रम्प रिसले चुर बनेका छन् । उनले आफूले नियुक्त गरेका न्यायाधीशहरूलाई उनीहरू पहिलेको जस्तो नरहेको भन्दै आलोचना समेत गरेका छन्।

सर्वोच्च अदालतको निर्णयले भने आगामी मध्यावधि चुनावमा हुलाकमार्फत हुने मतदानको विद्यमान व्यवस्था कायम रहने बाटो खोलिदिएको छ। अदालतले चुनाव सञ्चालन गर्ने अधिकार राज्यसँग रहेको संवैधानिक व्यवस्थालाई समेत आधार मानेको छ।

ट्रम्पका लागि यो एउटा अदालती हार मात्रै होइन, आफूले नियुक्त गरेका न्यायाधीशहरूबाट आफ्नो राजनीतिक इच्छाअनुसार निर्णय हुने अपेक्षामाथिको धक्का पनि हो।

केनेडी सेन्टरमा पनि रोकिए ट्रम्प

यसअघि एउटा तल्लो तहको अदालतले केनेडी सेन्टरको पुनर्निर्माण गर्ने ट्रम्पको प्रयासलाई पुनः असफल बनाइदिएको छ।

वासिङ्टनस्थित प्रतिष्ठित कला केन्द्रलाई पुनःसंरचना गर्ने र त्यसमा आफ्नो नाम जोड्ने प्रयासमा अदालतले अवरोध खडा गरेको छ।

कला तथा सांस्कृतिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा रहेको केनेडी सेन्टरलाई लिएर जारी विवाद अहिले झन् गम्भीर बनेको छ। हत्या गरिएका अमेरिकी पूर्वराष्ट्रपति जोन एफ. केनेडीको स्मारकमा ट्रम्पले आफ्नाे नाम जबर्जस्ती जोड्ने प्रयासमा अदालतले अवरोध खडा गरेको हाे।

आफ्नै पार्टीभित्र पनि बढ्दै असहमति

ट्रम्पको अधिकारमाथि अर्को चोट इरान युद्धको विषयमा आफ्नै पार्टीभित्रबाट लागेको छ। रिपब्लिकनको बहुमत रहेको हाउस अफ रिप्रिजेनटेटिभ्स (प्रतिनिधिसभा) ले मंगलबार ट्रम्पलाई इरानसँगको युद्ध अन्त्य गर्नुपर्ने दिशामा मतदान गरिदिएको छ।

यससँगै ट्रम्पको युद्ध नीतिको खुलेर विरोध गर्ने रिपब्लिकन सांसदको संख्या सात पुगेको छ। लामो समयदेखि रिपब्लिकन पार्टीमाथि लगभग पूर्ण नियन्त्रण कायम राख्दै आएका ट्रम्पका लागि यो सामान्य असहमति मात्र होइन, पार्टीभित्र उनको प्रभावमा देखिन थालेको दरारको संकेतका रूपमा हेरिएको छ।

यसअघि ट्रम्पले आफ्नो नीतिविपरीत जाने रिपब्लिकन सांसदहरूलाई सहजै नियन्त्रणमा राख्दै आएका थिए। तर इरान युद्धको विषयमा सांसदहरूले मतदाताको दबाबलाई ध्यानमा राखेर राष्ट्रपतिबाट दूरी बनाउन थालेका छन्।

५ हजार डलरको योजना पनि संकटमा

मध्यावधि चुनावमा रिपब्लिकन पार्टी विजयी भए प्रत्येक अमेरिकी नागरिकलाई ५ हजार डलर दिने ट्रम्पको प्रस्ताव पनि अहिले संकटमा परेको छ।

ट्रम्पले चुनावी अभियानका क्रममा अघि सारेको यो प्रस्तावलाई क्यापिटल हिलका रिपब्लिकन सांसदहरूले नै खुलेर समर्थन गर्न छाडेका छन्। पार्टीभित्रबाटै दूरी बढेपछि उनको यो ठूलो चुनावी प्रस्ताव कार्यान्वयनमा जाने सम्भावना कमजोर बनेको छ।

त्यसमाथि प्रतिनिधिसभाका सभामुख माइक जोनसनले बुधबार सांसदहरूलाई पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै घर पठाएका छन्। ट्रम्पका निकट सहयोगी मानिने जोनसनले यस्तो निर्णय गर्नुको एउटा कारण रक्षा सचिव पिट हेगसेथलाई महाभियोग लगाउने विषयमा हुन सक्ने लज्जास्पद मतदानबाट बच्नु रहेको बताइएको छ।

ट्रम्पले रोजेका फेड अध्यक्षबाटै ब्याजदर वृद्धि

बुधबार ट्रम्पका लागि अर्को सांकेतिक धक्का त्यतिबेला लाग्यो जब ट्रम्प स्वयंले चुनेका नयाँ अध्यक्ष केभिन वार्सको नेतृत्वमा रहेको फेडरल रिभर्ज (केन्द्रीय बैंक) ले जुलाई २०२३ पछि पहिलोपटक ब्याजदर बढायो ।

फेडको १२ सदस्यीय निर्णयकारी समितिले सर्वसम्मत रूपमा ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ३.७५ देखि ४ प्रतिशतको दायरामा पुर्‍याएको हो।

ट्रम्पले महिनौँदेखि ब्याजदर ठूलो मात्रामा घटाउन फेडमाथि दबाब दिँदै आएका थिए। उनका अघिल्ला फेड अध्यक्ष जेरोम पावेलसँग पनि ब्याजदर कटौती नगरेको विषयमा पटक-पटक विवाद भएको थियो।

फेडले ब्याजदर बढाएपछि ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत फेरि असन्तुष्टि पोखेका छन्। अमेरिकी अर्थतन्त्र तीव्र गतिमा अघि बढिरहेको भन्दै उनले अमेरिकाको ब्याजदर १ प्रतिशत वा त्यसभन्दा कम हुनुपर्ने दाबी गरेका छन्।

तर फेडले भने मुद्रास्फीति नियन्त्रणमा ल्याउन ब्याजदर बढाएको जनाएकाे छ। व्यापारिक भन्सार र मध्यपूर्वको युद्धका कारण ऊर्जासहित विभिन्न वस्तुको मूल्यमा दबाब बढेको अवस्थामा मुद्रास्फीति नियन्त्रण गर्नु फेडका लागि प्रमुख चुनौती बनेको छ।

यसले फेडरल रिजर्भ राष्ट्रपतिको राजनीतिक दबाबभन्दा बाहिर रहेर आफ्नो निर्णय गर्न सक्ने संस्था हो भन्ने सन्देश दिएको छ।

विदेशमा पनि ट्रम्पको दबदबा खस्किँदै

ट्रम्पको चुनौती घरेलु राजनीतिमा मात्रै सीमित छैन। विदेशमा अमेरिकाको निर्विवाद शक्ति कायम रहेको उनको दाबीमाथि पनि पछिल्ला घटनाले प्रश्न उठाएका छन्।

क्यानडालाई युरोपेली संघको ‘सहायक सदस्य’ बनाउने प्रस्तावले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ। उत्तर अमेरिकी व्यापारिक संरचनाको महत्वपूर्ण हिस्सा क्यानडा ट्रम्प प्रशासनसँगको तनावपछि युरोपतर्फ नजिकिन खोजिरहेको छ।

ट्रम्प प्रशासनले पश्चिमी गोलार्धमा अमेरिकी प्रभुत्वलाई आफ्नो विदेश नीतिको महत्वपूर्ण आधार बनाएको छ। तर अमेरिकाको भौगोलिक तथा सांस्कृतिक रूपमा सबैभन्दा नजिकको सहयोगी क्यानडाले नै युरोपसँग नयाँ सम्बन्ध खोज्नु ट्रम्पका लागि गम्भीर संकेत बनेको छ।

क्यानडाले ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिबाट आफूलाई सुरक्षित राख्न नयाँ विकल्प खोजिरहेको देखिन्छ। विशेषगरी ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने किसिमका अभिव्यक्ति दिँदै आएका कारण ओटावाले भविष्यमा वासिङ्टनमाथि पूर्ण निर्भर रहन नसकिने निष्कर्ष निकाल्न थालेको विश्लेषण गरिएको छ।

ट्रम्पले भने बुधबार युरोपेली संघले क्यानडालाई सहायक सदस्यता दिएमा युरोपमाथि ‘भारी भन्सार कर’ लगाउन सकिने चेतावनी दिएका छन्। क्यानडाको कदम राम्रो नियतले आएको भए ठीक हुने, तर खराब नियत भए युरोपमाथि ठूलो भन्सार लगाउन सकिने उनको भनाइ छ।

यद्यपि युरोपेली संघको सहायक सदस्यताको वास्तविक स्वरूप के हुनेछ र यसले अमेरिकासँग क्यानडाको विशाल व्यापारिक सम्बन्धमा कस्तो प्रभाव पार्नेछ भन्ने अझै स्पष्ट छैन।

तर क्यानडाको यस्तो कदमले उत्तर अमेरिकी व्यापारिक सम्बन्ध कमजोर हुने र पश्चिमी मुलुकबीचको गठबन्धन प्रणालीमा समेत दरार बढ्ने जोखिम देखाएको छ। त्यसले अन्ततः अमेरिकाले पश्चिमी शक्तिलाई एकीकृत रूपमा अघि बढाउने क्षमतालाई कमजोर बनाउन सक्छ।

इरान युद्धले पनि देखायो अमेरिकी शक्तिको सीमा

इरानसँगको युद्धले पनि ट्रम्प प्रशासनको अर्को दाबीमाथि प्रश्न उठाएको छ। अमेरिका यति शक्तिशाली छ कि उसले चाहेअनुसार सबै कुरा गर्न सक्छ भन्ने धारणालाई युद्धले कमजोर बनाइरहेको छ।

युद्ध कहिले अन्त्य हुन्छ भन्ने विषयमा ट्रम्प स्वयं स्पष्ट छैनन्। मध्यावधि चुनावअघि युद्ध सकिन्छ कि त्यसपछि भन्ने प्रश्नको जवाफसमेत उनले निश्चित रूपमा दिन सकेका छैनन्।

इरानका सशस्त्र बलले ठूलो क्षति बेहोरेका हुन सक्छन् र इरानको अर्थतन्त्र पनि गम्भीर संकटमा परेको हुन सक्छ। तर त्यसका बाबजुद तेहरानको क्रान्तिकारी शासन युद्ध सुरु भएको करिब ८ महिनापछि पनि टिकिरहेको छ।

त्यसमाथि इरान समर्थित हुथी विद्रोहीहरूले बाब अल-मन्देब जलडमरूमध्य आसपासको भूभाग कब्जा गरेका छन्। यसले विश्वको अर्को महत्वपूर्ण तेल निर्यात मार्गमाथि उनीहरूलाई प्रभाव जमाउने सम्भावना बढाएको छ। उता अमेरिका अझै स्ट्रेट अफ होर्मुजलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन संघर्ष गरिरहेको छ।

यसले अमेरिकी सैन्य शक्ति ठूलो भए पनि युद्ध सुरु गर्नु र त्यसलाई आफूले चाहेको समयमा तथा आफ्नै सर्तमा अन्त्य गर्नु एउटै कुरा होइन भन्ने देखाएको छ।

धम्क्याएरै चल्ने ट्रम्पको शैलीमा आउँदैछ ब्रेक

अब मुख्य प्रश्न यही हो-लगातारका यी राजनीतिक उल्टफेरले ट्रम्पको राजनीतिक भविष्यमा कति ठूलो असर पार्ला ?

सबैभन्दा स्पष्ट संकेत के देखिन्छ भने राजनीतिक शक्तिको स्वाभाविक दबाब फेरि ट्रम्पमाथि फर्किन थालेको छ। इरान युद्धमा आफ्नै पार्टीका सांसदहरूको असहमति त्यसकै उदाहरण हो।

अलोकप्रिय राष्ट्रपतिबाट मध्यावधि चुनावअघि दूरी बनाउन सांसदहरू बाध्य हुने अमेरिकी राजनीतिमा पुरानै चलन हो। ट्रम्प पनि अब त्यही राजनीतिक गुरुत्वाकर्षणबाट पूर्ण रूपमा मुक्त नरहेको देखिएको छ।

गत वर्षसम्मको वातावरण हेर्दा ट्रम्पलाई लगभग रोक्न नसकिने राजनीतिक शक्तिका रूपमा हेरिन्थ्यो। उनले कार्यकारी शक्तिमाथिका धेरै परम्परागत नियन्त्रणलाई कमजोर पारेका थिए। ठूला कानुनी संस्था, व्यापारिक प्रमुख र विश्वविद्यालयका नेतृत्वसमेत उनको अगाडि झुक्न बाध्य हुने अवस्था बनेको दाबी गरिएको थियो।

तर पछिल्ला घटनाले त्यो तस्वीरमा परिवर्तनको संकेत देखाएका छन्। सर्वोच्च अदालतले आफ्नो निर्णयमा अडान लिएको छ, फेडरल रिजर्भले राष्ट्रपतिको इच्छाविपरीत ब्याजदर बढाएको छ, आफ्नै पार्टीका सांसदहरूले इरान युद्धमा असहमति जनाएका छन् र क्यानडा अमेरिकाबाट पर नयाँ विकल्प खोजिरहेको छ।