६ कार्तिक २०८३, शुक्रबार

सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइट तथा सेवा अस्थायी बन्द, वित्तीय क्षेत्रलाई सुरक्षा निगरानी बढाउन अपिल



काठमाडौँ । विश्वव्यापी रूपमा वेब प्रविधि (पीएचपी) मा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा अन्य सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ।

केन्द्रीय बैंकले सामाजिक सञ्जाल फेसबुकमा सूचना सार्वजनिक गर्दै सुरक्षा जोखिमका कारण वेबसाइट तथा सेवाहरू अस्थायी रूपमा बन्द गर्नु परेकाे जानकारी दिएकाे हाे ।

वेबसाइट तथा सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय एवं सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमा मागेको छ। साथै, वेबसाइट बन्द रहेको अवधिभर बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीहरू आधिकारिक सामाजिक सञ्जाल मार्फत प्रवाह गरिने राष्ट्र बैंकले जनाएको छ।

विश्वव्यापी रूपमा देखिएको उक्त सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै राष्ट्र बैंकले देशका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (PSO), भुक्तानी सेवा प्रदायक (PSP) तथा विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूलाई समेत सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन विशेष अपिल गरेको छ।