१५ कार्तिक २०८३, आइतबार

तीन महिनामा हिमालयन बैंकले कमायाे ६५ करोड ४८ लाख नाफा, कस्ता छन् अन्य सूचक



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा हिमालयन बैंकले ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ।

आइतबार सार्वजनिक भएको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार समिक्षा अवधिमा ६.८४ प्रतिशतले घटेकाे हाे ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ७० करोड २८ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ५० करोड ७१ लाख ११ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा १२.३० प्रतिशतले घटेर २ अर्ब १९ करोड ८६ लाख ३२ हजार रुपैयाँमा झरेको छ।

खुद ब्याज आम्दानी घटेसँगै बैंकको कुल सञ्चालन आम्दानी ९.५६ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले २ अर्ब ७६ करोड २४ लाख ३३ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा ३ अर्ब ५ करोड ४५ लाख ४५ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै, बैंकको सञ्चालन मुनाफामा पनि सामान्य संकुचन आएको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४.८४ प्रतिशतले घटेर १ अर्ब ५ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ, जुन गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड ६६ लाख २३ हजार रुपैयाँ रहेको थियो।

यसैगरी, बैंकको बाँड्न मिल्ने मुनाफा (वितरणयोग्य मुनाफा) अझै पनि ऋणात्मक अवस्थामा रहेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको कुल वितरणयोग्य नोक्सानी ९ अर्ब ७८ करोड ८५ लाख ८ हजार रुपैयाँ कायम भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा पनि ७ अर्ब ५४ करोड ६४ लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।

व्यवसाय विस्तारतर्फ समीक्षा अवधिमा बैंकको निक्षेप संकलनमा सामान्य सुधार देखिए पनि कर्जा प्रवाहमा भने केही संकुचन आएको छ। गत असार मसान्तसम्म ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ रहेको कुल निक्षेप संकलन बढेर असोज मसान्तसम्म ३ खर्ब ५१ अर्ब ६१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। अर्कोतर्फ, ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापट भने गत असार मसान्तको २ खर्ब ३७ अर्ब ७७ करोड ९० लाख रुपैयाँबाट घटेर २ खर्ब ३७ अर्ब ६९ करोड ३८ लाख रुपैयाँमा झरेको छ।

बैंकको सम्पत्तिको गुणस्तरमा भने थप दबाब परेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७.३९ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा (खराब कर्जा) अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ७.९८ प्रतिशत पुगेको छ।

नाफामा आएको गिरावटसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत वर्षको पहिलो तीन महिनामा १२.४५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर ११.६० रुपैयाँमा झरेको छ। यस्तै, समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८०.४२ रुपैयाँ कायम भएको छ।