राष्ट्र बैंकले नष्ट गऱ्यो साढे ७ खर्बका पुराना नोट, नयाँ नोट छपाइ र आपूर्तिको अवस्था कस्तो छ ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ सम्ममा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ मूल्य बराबरका पुराना तथा प्रयोग अयोग्य कागजी नोटहरू नष्ट गरेको छ । सर्वसाधारण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट सटही तथा जम्मा हुन आएका च्यातिएका, मैला भएका र पुनः बजारमा पठाउन नमिल्ने अवस्थाका नोटहरूलाई धुल्याएर ब्रिकेटमा परिणत गरिएको केन्द्रीय बैंकले जानकारी दिएको हो।
चलनचल्तीमा रहेको मुद्राको अवस्था केन्द्रीय बैंकको तथ्याङ्क अनुसार बजारमा चलनचल्तीमा रहेका नोटको परिमाणमा वार्षिक ६.०८ प्रतिशतले वृद्धि भएको छ । २०८२ असार मसान्तसम्म ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोटहरू बजारमा रहेकोमा २०८३ असार मसान्तसम्म आइपुग्दा यो रकम बढेर ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
२०८३ असार मसान्तसम्म राष्ट्र बैंकको ढुकुटीमा ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोटहरू मौज्दात रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ मात्र थियो ।
बैंकनोटको गुणस्तर र सुरक्षण विशेषतालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार थप परिमार्जन र सुरक्षित बनाउँदै लगिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ । नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीहरूलाई पूर्वयोग्यता (प्री-क्वालिफिकेसन) सूचीमा राखिएको छ ।
नयाँ नोट छपाइ र आपूर्तिको अवस्था
गत आर्थिक वर्षमा विभिन्न दरका नयाँ बैंकनोटहरूको छपाइ सम्झौता र आपूर्ति प्रक्रियाले तीव्रता पाएको छ । यस अवधिमा ५ रुपैयाँ दरका ३५ करोड थान नोट करार सम्झौता अनुसार पूर्ण रूपमा आपूर्ति भई केन्द्रीय बैंकको ढुकुटीमा दाखिला भइसकेका छन् ।
त्यस्तै, १० रुपैयाँ दरका कुल ३४ करोड थान नोट छपाइ तथा आपूर्तिको सम्झौता भएकोमा पहिलो र दोस्रो लट गरी २३ करोड थान नोट भण्डारण भइसकेको छ ।
यसैगरी, १०० रुपैयाँ दरका ३० करोड थान नोट आपूर्तिको सम्झौता अन्तर्गत दुई चरणमा गरी २१ करोड थान नोट राष्ट्र बैंकको ढुकुटीमा आइसकेको छ भने ५०० रुपैयाँ दरका २३ करोड थान नोटमध्ये पहिलो लटको १२ करोड थान आपूर्ति भई सुरक्षित राखिएको छ ।
यसका अतिरिक्त, गत आर्थिक वर्षमै ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान बैंकनोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि समेत ठेक्का सम्झौता सम्पन्न भएको केन्द्रीय बैंकले जनाएको छ ।















