२ मंसिर २०८३, बुधबार

ईसेवाका पूर्वप्रमुख कार्यकारी खड्का बने आईएमई ग्रुपका नयाँ भाइस प्रेसिडेन्ट



डिजिटल अर्थतन्त्रलाई गति दिने रणनीतिसहित आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा चार्टर्ड एकाउन्टेन्ट जगदीश खड्का नियुक्त भएका छन्।

काठमाडाैँ । प्रमुख व्यावसायिक प्रतिष्ठान आईएमई ग्रुपले आफ्नो साङ्गठनिक संरचनालाई थप गतिशील बनाउँदै जगदीश खड्कालाई ग्रुपको भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। पछिल्लो समय डिजिटल अर्थतन्त्र र वित्तीय सेवाको क्षेत्रमा बलियो पकड जमाउँदै आएको यो समूहले खड्काको प्रवेशसँगै आफ्ना विभिन्न व्यवसायबीचको आन्तरिक सहकार्यलाई थप परिष्कृत गर्ने लक्ष्य राखेको छ।

नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काको प्रमुख जिम्मेवारी आईएमई समूह अन्तर्गतका विभिन्न कम्पनीहरूलाई एक सूत्रमा बाँध्नु हुनेछ। समूहका विभिन्न क्षेत्रमा रहेका विशेषज्ञता, अत्याधुनिक प्रविधि, बजारमाथिको पहुँच र फराकिलो वितरण सञ्जाललाई एकीकृत गरेर प्रत्येक व्यवसायलाई बजारमा अझ बढी प्रतिस्पर्धी बनाउने जिम्मा उनलाई दिइएको छ। यसबाट समग्र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु उचाइमा पुग्ने विश्वास लिइएको छ।

समूहले जनाए अनुसार नयाँ सेवा र व्यावसायिक साझेदारीको विकास गर्नु अहिलेको मुख्य प्राथमिकता रहनेछ। डिजिटल माध्यमबाट ग्राहकले पाउने अनुभवमा सुधार ल्याउँदै नेपालको उददीयमान डिजिटल अर्थतन्त्रमा आईएमई ग्रुपको योगदानलाई अझ फराकिलो बनाउने कार्ययोजनामा खड्का केन्द्रित हुनेछन्। बदलिँदो प्रविधिको लहरसँगै सेवालाई जनमैत्री र प्रभावकारी बनाउन यो नियुक्तिले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

चार्टर्ड एकाउन्टेन्टको व्यावसायिक पृष्ठभूमि भएका खड्कासँग कर्पोरेट क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ। यसअघि डिजिटल वालेट ईसेवाको प्रमुख कार्यकारी अधिकृतको सफल कार्यकाल बिताइसकेका उनले विभिन्न डिजिटल वित्तीय सेवाका संवेदनशील र महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालिसकेका छन्। वित्त र प्रविधिको यो गहिरो ज्ञानले आईएमई ग्रुपको भावी योजनालाई गति दिन सघाउनेछ।

नवनियुक्त भाइस प्रेसिडेन्ट खड्कालाई स्वागत गर्दै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले समूहका हरेक कम्पनीलाई संस्थागत रूपमा अझ बलियो बनाउन यो निर्णय कोसेढुङ्गा साबित हुने बताएका छन्।

डिजिटल रूपान्तरणको दायरा विस्तार गर्दै बजारमा नयाँ अवसरहरू सिर्जना गर्न खड्का सक्षम हुनेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाइ छ। यता, भाइस प्रेसिडेन्ट खड्काले पनि ग्रुपका निर्धारित प्राथमिकताहरूलाई आत्मसात् गर्दै सबै सरोकारवालाहरूसँगको सहकार्यमा ठोस नतिजा ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

रेमिट्यान्स, बैंकिङ, बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि र उत्पादनलगायतका अर्थतन्त्रका बहुआयामिक क्षेत्रमा लगानी फैलाएको आईएमई ग्रुपले खड्काको यो नयाँ नियुक्तिसँगै आफ्नो व्यावसायिक गतिशीलतालाई थप उचाइमा लैजाने देखिएको छ।