राजेन्द्र श्रेष्ठ बने नेपाली सेनाका नयाँ प्रवक्ता, राजाराम बस्नेत प्रधानसेनापतिको सचिवालयमा
सैनिक मुख्यालय जङ्गी अड्डामा पदभार सम्हाल्दै नवनियुक्त प्रवक्ता राजेन्द्र श्रेष्ठले विकास निर्माण र विपद् व्यवस्थापनका कामबारे नागरिकलाई सुसूचित गर्न तथा भ्रामक सूचना चिर्न सञ्चार माध्यमसँग निरन्तर सहकार्य गर्ने बताए ।
काठमाडाैँ । नेपाली सेनाको नयाँ प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीवार आयोजित एक कार्यक्रममार्फत सेनाले उनको नियुक्तिबारे औपचारिक जानकारी दिएको हो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले सेनाले सञ्चालन गरिरहेका विकास निर्माण र विपद् व्यवस्थापन लगायतका गतिविधिसम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्याउन सञ्चार माध्यमसँग नियमित संवाद र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो अधिकार र कर्तव्यको दायराभित्र रहेर सैनिक सूचना प्रवाह गर्ने प्रक्रियालाई अझ सहज र प्रभावकारी बनाउने बताए ।
प्रवक्ता श्रेष्ठले गलत तथा भ्रामक सूचनालाई निरुत्साहित गर्न र चिर्न समेत आफू सक्रिय रहने बताए । उनले कुनै विषयमा अन्योल वा दुबिधा देखिएमा स्पष्ट हुन र समन्वय गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
सैनिक संस्था र सञ्चार क्षेत्रबीचको सम्बन्ध विगतदेखि नै सौहार्दपूर्ण, व्यावसायिक र घनिष्ठ रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा यो सम्बन्धलाई थप विश्वसनीय, पारदर्शी र मजबुत बनाउनु आफ्नो मुख्य प्राथमिकता हुने बताए ।
उनले निवर्तमान प्रवक्ताले नागरिकको सूचनाको हकलाई ध्यानमा राख्दै निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गरे । साथै, सेनाका गतिविधि नागरिकमाझ पुर्याउन भूमिका खेल्ने सञ्चार माध्यम र पत्रकारहरूलाई उनले धन्यवाद दिए ।
सहायक रथी श्रेष्ठ ३४ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् । उनी विसं २०४८ मा अधिकृत क्याडेटका रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । यसअघि उनले सेनाका विभिन्न विभागमा रहेर विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
उता, यसअघिका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेत भने प्रधानसेनापतिको सचिवालयमा सरुवा भएका छन् । सचिवालयमा उनलाई सैनिक सहायकको जिम्मेवारी दिइएको छ । बस्नेतले १८ महिनासम्म नेपाली सेनाको प्रवक्ताका रूपमा काम गरेका थिए ।
बस्नेतले जेनजी प्रदर्शनपछिकाे अवस्थादेखि त्रिशूलीकाे जलप्रलय एवम् कालीगण्डकी बूढीगण्डकी बाढीसम्म प्रकाेप व्यवस्थापनमा सञ्चारकर्मीहरूसँग असाध्यै राम्राे समन्वय गरेका थिए । उनले सैनिक जनसम्पर्कलाइ नयाँ र खुल्ला बाटाेमा अघि बढाउन महत्वपूर्ण काम गरेकाे भनेर पत्रकारहरूले धन्यवाद दिएका थिए ।















