८ मंसिर २०८३, मंगलबार

बदलिँदै बैंकिङ परिदृश्य : मर्जर र प्रविधिले खुम्च्यायो परम्परागत जागिर, अब कस्ता जनशक्ति चाहिन्छ ?



काठमाडौँ। नेपालमा बैंकको जागिर प्रतिष्ठा, आकर्षक तलब र सुरक्षित भविष्यको पर्याय मानिन्छ। कुनै समय वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धिसँगै धमाधम खुल्ने नयाँ शाखाहरूले हरेक वर्ष हजारौँ शिक्षित युवालाई रोजगारीको ढोका खोलिदिन्थे, सायद त्यसैले होला बैंकको जागिरप्रतिको क्रेज आज पनि उस्तै छ। तर, पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रको यो परम्परागत तस्वीर फेरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको तीव्र मर्जर (गाभ्ने/गाभिने) प्रक्रिया र प्रविधिको आक्रामक विस्तारको दोहोरो दबाबले परम्परागत बैंकिङ रोजगारीको संरचनामै परिवर्तन ल्याइदिएको छ। एकातिर मर्जरका कारण संस्थाहरूको संख्या घट्दा दोहोरिएका जनशक्ति कटौतीमा परेका छन् भने अर्कोतिर मोबाइल बैंकिङ र क्यूआर भुक्तानी जस्ता डिजिटल माध्यमले ग्राहकलाई काउन्टरसम्म पुग्नुपर्ने बाध्यता हटाइदिएको छ। यससँगै, अब बैंकिङ क्षेत्रमा परम्परागत जागिरको अवसर खुम्चँदै गएको छ भने बैंकहरूलाई कस्तो खालको नयाँ जनशक्ति आवश्यक पर्छ भन्ने बहस सुरु भएको छ।

मर्जरको असर: घट्दो बैंक संख्या र जनशक्ति कटौतीको दबाब

नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्था र चुक्ता पुँजी वृद्धिको प्रावधानपछि वित्तीय क्षेत्र समेकित हुने क्रम तीव्र बन्यो। सन् २०१२ को अप्रिलसम्म देशभर बैंक तथा वित्तीय संस्थाको संख्या २२० पुगेको थियो। तर, राष्ट्र बैंकको ‘बैंक सुपरिवेक्षण प्रतिवेदन २०२५’ अनुसार २०२१ जुलाई मध्यमा १३३ रहेको यो संख्या २०२५ जुलाई मध्यसम्म आइपुग्दा १०७ मा खुम्चिएको छ। विशेषगरी २०२१ मा २७ वटा रहेका वाणिज्य बैंक २०२५ सम्म आइपुग्दा २० वटामा सीमित भएका छन् भने विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्थाको संख्या पनि सोही अनुपातमा घटेको छ।

पछिल्ला वर्षहरूमा नबिलमा नेपाल बंगलादेश, ग्लोबल आइएमईमा जनता र बैंक अफ काठमाण्डू, कुमारीमा एनसीसी, प्रभुमा सेञ्चुरी बैंक गाभिए। त्यस्तै, नेपाल इन्भेस्टमेन्ट र मेगा, हिमालयन र सिभिल तथा लक्ष्मी र सनराइज बैंक एकीकृत भए। यी मर्जरले बैंकहरूको पुँजी र बजार पहुँच बलियो बनाए पनि आन्तरिक जनशक्ति व्यवस्थापनमा ठूलो चुनौती थप्यो।

दुई छुट्टाछुट्टै संस्था एक हुँदा आईटी, मानव संसाधन, लेखा र प्रशासनिक विभागहरू एउटै बनाउनु पर्ने हुन्छ भने एउटै क्षेत्रमा रहेका शाखाहरू गाभ्नुपर्ने बाध्यता आउँछ। यस्तो अवस्थामा बैंकहरूले नयाँ जनशक्ति थप्नुको सट्टा मौजुदा कर्मचारीलाई स्थानान्तरण गर्ने, जिम्मेवारी हेरफेर गर्ने वा स्वेच्छिक अवकाश योजना (भीआरएस) ल्याएर जनशक्ति कटौती गर्ने रणनीति अपनाउँछन्। जसको प्रत्यक्ष असर नयाँ भर्ना र युवाहरूको अवसरमा परेको छ।

प्रविधिको विस्तारले घटायो काउन्टरमा भीड

परम्परागत बैंकिङ जागिर खुम्च्याउने दोस्रो प्रमुख कारक डिजिटल प्रविधि हो। हिजोका दिनमा खाताको विवरण हेर्न, सामान्य रकम स्थानान्तरण गर्न वा बिल तिर्नसमेत ग्राहकहरू बैंकको लाइनमा उभिनुपर्थ्यो, जसका लागि ठूलो संख्यामा काउन्टर कर्मचारी आवश्यक पर्थ्यो। आज ती सबै काम ग्राहकको हातको मोबाइलबाटै सम्भव भएको छ।

राष्ट्र बैंकको तथ्याङ्कले डिजिटल बैंकिङको यो छलाङलाई स्पष्ट पार्छ। २०२१ जुलाई मध्यमा वाणिज्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड २६ लाख ३८ हजार रहेकोमा २०२५ जुलाई मध्यसम्म आइपुग्दा यो संख्या झण्डै दोब्बर अर्थात् २ करोड ३७ लाख ८७ हजार नाघेको छ। डिजिटल कारोबारको यो वृद्धिले बैंकहरूलाई कम भौतिक पूर्वाधार र थोरै जनशक्तिबाटै लाखौँ ग्राहकलाई छिटो सेवा दिन सक्षम बनाएको छ।

सञ्चालन खर्च घटाउन राष्ट्र बैंकले एउटै क्षेत्रका शाखा समायोजन गर्न लचिलो नीति लिएपछि बैंकहरूको भौतिक सञ्जालमा पनि हेरफेर भइरहेको छ। दोहोरिएका र कम कारोबार हुने शाखाहरू समायोजन गर्ने क्रम जारी छ। यसको असर पनि जनशक्ति संकुचनमा पर्छ।

२०२५ जुलाई मध्यसम्मको तथ्याङ्कअनुसार देशका २० वाणिज्य बैंकमा स्थायी र करार गरी कुल ४५ हजार ६०८ जना कर्मचारी कार्यरत छन् (निजीमा ८१.८६% र सरकारीमा १८.१४%)। विगत पाँच वर्षमा कति नयाँ भर्ना भए र कतिले अवकाश लिए भन्ने एकीकृत विवरण सार्वजनिक नहुँदा रोजगारी खुम्चिएको हो वा स्थिर छ भनी ठोकुवा गर्न कठिन छ। तर, घट्दो बैंक संख्या र बढ्दो प्रविधि प्रयोगले परम्परागत बैंकिङ जागिरमा दबाब सिर्जना गरेको तथ्य भने स्पष्ट देखिन्छ।

अब बैंकलाई कस्ता जनशक्ति चाहिन्छ ?

बैंकिङ क्षेत्रका जानकारहरुले बताएअनुसार मर्जर र प्रविधिको यो दोहोरो प्रभावले बैंकिङ रोजगारी नै समाप्त पार्ने होइन, बरु आवश्यक जनशक्तिको योग्यता र सीपको मापदण्ड परिवर्तन हुनेछ। अब बैंकहरूलाई सामान्य प्रशासनिक, लेखा वा काउन्टरको काम गर्ने परम्परागत कर्मचारीभन्दा पनि विशिष्टीकृत र प्राविधिक दक्षता भएका जनशक्तिको खाँचो छ।

यसको पछिल्लो उदाहरण छिमेकी मुलुक भारतको बैंकिङ क्षेत्रमा देखिएको बदलावलाई लिन सकिन्छ। भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले कृत्रिम बौद्धिकता (एआई) प्रविधिलाई संस्थागत रूपमा अघि बढाउन वार्षिक अधिकतम १ करोड ६० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिने गरी ‘प्रमुख एआई अधिकृत’ (चिफ एआई अफिसर) सहित एआई आर्किटेक्ट जस्ता ६ वटा उच्च प्राविधिक पदमा भर्ना खुलाएको छ।

हाल भारतीय बैंकहरूले ग्राहक सेवामा च्याटबटदेखि लिएर कर्जा मूल्यांकन, ठगी नियन्त्रण (जस्तै आरबीआईको ‘म्युलहन्टर डट एआई’) र कारोबार विश्लेषणसम्म एआईको आक्रामक प्रयोग गरिरहेका छन्।

प्रविधिको यही लहरले नेपालका बैंकहरूमा पनि अब सामान्य जनशक्तिभन्दा उच्च प्राविधिक सीप भएका विशेषज्ञहरूको माग अपरिहार्य हुने नै छ।

विज्ञहरुका अनुसार आगामी दिनमा बैंकहरूमा सूचना प्रविधि (आईटी), साइबर सुरक्षा, डेटा एनालिटिक्स र जोखिम व्यवस्थापन जस्ता विशिष्टीकृत क्षेत्रका दक्ष जनशक्तिको माग उच्च हुने देखिन्छ। डिजिटल बैंकिङको विस्तारसँगै प्रणाली सञ्चालन गर्न तथा ग्राहकको डेटा र रकमलाई साइबर आक्रमणबाट जोगाउन आईटी र साइबर सुरक्षा विज्ञहरू बैंकको पहिलो प्राथमिकतामा पर्नेछन्।

त्यस्तै, ग्राहकको कारोबारको प्रवृत्ति विश्लेषण गरी सोहीअनुसारका नयाँ डिजिटल वित्तीय सेवा तथा प्रडक्टहरू डिजाइन गर्न डेटा विश्लेषक र प्रडक्ट डेभलपरहरूको आवश्यकता बढ्दो छ। अर्कोतर्फ, प्रविधिको प्रयोगसँगै डिजिटल ठगी र सम्पत्ति शुद्धीकरण जस्ता जोखिमहरू पनि थपिँदै गएकाले यस्ता वित्तीय अपराध नियन्त्रण र समग्र जोखिम व्यवस्थापन गर्न सक्ने विज्ञ जनशक्ति बैंकका लागि अपरिहार्य बन्दै गएको छ।

कुनै समय सामान्य शैक्षिक योग्यता र आधारभूत बैंकिङ ज्ञानकै भरमा बैंकमा प्रवेश पाउन सहज थियो। तर, अबको प्रतिस्पर्धा नितान्त फरक छ। प्रविधिले कम जनशक्तिबाटै धेरै कारोबार सम्भव बनाइरहँदा, भविष्यमा बैंकिङ क्षेत्रमा करिअर बनाउन चाहने युवाहरूले परम्परागत विषयसँगै प्रविधि, डेटा र विश्लेषणात्मक सीपमा आफूलाई अब्बल साबित गर्नुपर्ने देखिन्छ।