१० मंसिर २०८३, बिहिबार

पैसाकाे भारीले थिचियाे अर्थतन्त्र, स्राेत नै बन्याे अभिषाप



ढुकुटीमा साढे ४१ खर्ब विदेशी मुद्रा र बैंकमा ३८ प्रतिशत नाघेको तरलताकाे थुप्रोले नेपाली अर्थतन्त्र पैसाकाे भारीले थिचिएकाे देखाउँछ । यस्ताे बेला देशकाे विकास र लगानी प्रवद्धनमा हस्तक्षेप गर्नुपर्ने राज्य अहिले निजी क्षेत्र तर्साउन र धनकाे स्राेत खाेज्नमा हस्तक्षेप गरिरहेकाे छ, जसकाे परिणाम याे दुर्दान्त अवस्था बन्दै छ ।

काठमाडौँ । बाह्य भुक्तानी र बैंकिङ हिसाबकिताबका आँकडा हेर्दा नेपालको अर्थतन्त्र सहज अवस्थामा देखिन्छ, तर आन्तरिक आर्थिक गतिविधिमा भने गहिरो सुस्तता देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति रु. ४१ खर्ब ६१ अर्ब १४ करोड पुगेको छ, जसले करिब १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था देखाउँछ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति रु. २९ खर्ब ७९ अर्ब ८१ करोड थियो र त्यसले १६.४ महिनाको आयात धान्ने क्षमता राख्थ्यो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह रु. ७ खर्ब ३ अर्ब ७० करोड अर्थात् ४ अर्ब ६० करोड अमेरिकी डलर पुगेपछि बाह्य सञ्चिति थप बलियो बनेको हो ।

नेपाल राष्ट्र बैंकले ७ महिनाको आयात धान्ने सञ्चिति कायम राख्ने लक्ष्य लिएकोमा वास्तविक सञ्चिति सो लक्ष्यभन्दा निकै माथि पुगेको छ ।

अर्कोतर्फ, बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । पछिल्ला चार वर्षदेखि कर्जा–निक्षेप अनुपात घट्दै गएको छ भने दुई वर्षअघि करिब २५ प्रतिशत रहेको वाणिज्य बैंकहरूको तरलता अनुपात अहिले ३८ प्रतिशतभन्दा माथि पुगेको छ । यसै हसप्ताकाे बुधबारकाे तथ्यांक हेर्ने हाे भने १४ खर्ब ३२ अर्बभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थामा लगानी नभएर थुप्रिएकाे देखिन्छ ।

यति ठूलाे रकम उपलब्ध हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रमा प्रवाह हुन नसक्दा स्रोतको उपयोग र आर्थिक चलायमानताबीच असन्तुलन देखिएको छ ।

थुप्रिएको रकम र सुस्त कर्जा प्रवाह

बैंकहरूमा तरलता बढ्दा र ब्याजदर घट्दा सामान्यतया कर्जा विस्तार र व्यावसायिक गतिविधि बढ्ने अपेक्षा गरिन्छ । तर, पछिल्ला चार वर्षमा निक्षेप बढ्ने गतिअनुसार निजी क्षेत्रमा कर्जा प्रवाह हुन सकेको छैन, जसका कारण कर्जा–निक्षेप अनुपात निरन्तर ओरालो लागेको छ । राष्ट्र बैंकले ९० प्रतिशतसम्मको कर्जा–निक्षेप अनुपातको सीमा तोके पनि बैंकहरू जोखिम मूल्याङ्कनमा सतर्क बनेका छन् भने नयाँ तथा भरपर्दो परियोजना विस्तारमा लगानीकर्ताको उत्साह कम देखिएको छ ।

दुई वर्षअघिको करिब २५ प्रतिशतबाट तरलता अनुपात ३८ प्रतिशत नाघ्दा बैंकहरूले संकलित निक्षेपलाई उद्योग, जलविद्युत्, व्यापार वा अन्य उत्पादनशील क्षेत्रमा लैजान कठिनाइ व्यहोरिरहेका छन् । सर्वसाधारण र वैदेशिक रोजगारीमा संलग्न श्रमिकले पठाएको रकम बैंकमा जम्मा भए पनि त्यसबाट उत्पादन र रोजगारी सिर्जना हुने क्रम सुस्त रहँदा आर्थिक गतिरोध कायम छ ।

अब बैंकहरू निक्षेप लिने कि नलिने भन्ने दाेधारमा देखिन थालेका छन् । दुइ वर्ष अघिदेखि नै केही बैंकहरूले संस्थागत निक्षेप लिन बेलाबखत अस्वीकार गर्दै आएका थिए । यसै कारण पाेहाेर असाेजमा बैंकहरूमा जम्मा भएकाे कुल निक्षेपमा संस्थागत निक्षेपकाे हिस्सा ३५.३० प्रतिशत थियाे, जुन अहिले घटेर ३२.५० प्रतिशतमा झरेकाे छ ।

निक्षेपकाे बढाेत्तरी र कर्जाकाे खडेरीले गत साल ५.५६ प्रतिशत रहेकाे वाणिज्य बैंकहरूकाे अाैसत आधारदर अहिले ४.६९ प्रतिशतमा झरेकाे छ । अतः असाध्यै ठूलाे संभावनाकाे पहाड बाेकेका यी तथ्यांकहरू केवल ‘भ्रमजाल’जस्ताे देखिन थालेका छन् ।

स्राेतः नेपाल बैंकर्स संघ ।

सञ्चितिको दोहोरो पाटो र अन्तर्राष्ट्रिय अनुभव

विदेशी विनिमय सञ्चिति कम हुँदा बाह्य भुक्तानी र आयातमा चाप पर्छ भने अत्यधिक सञ्चिति थुप्रिँदा स्रोतको अवसर लागत (अपर्च्युनिटि कस्ट) र आन्तरिक मागको कमजोरीसँग जोडिएका प्रश्न उठ्छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका अध्ययनहरूले सञ्चितिलाई बाह्य झट्का थेग्ने सुरक्षा कवचका रूपमा मात्र लिनुपर्ने र त्यसलाई दीर्घकालीन विकासको विकल्प मान्न नहुने औँल्याउँदै आएका छन् ।

विश्वव्यापी अनुभवले प्राकृतिक स्रोत वा बाह्य आप्रवाह धेरै हुँदैमा स्वतः समृद्धि नआउने देखाउँछ । सन् १९६० को दशकमा नेदरल्यान्ड्समा ग्यास भण्डार फेला परेपछि उसकाे मुद्रा निरन्तर बलियो हुन थाल्याे । मुद्रा महँगाे भएपछि त्याे देशले निर्यात गर्न सकेन । किनकी, नेदरल्यान्ड्सबाट किनेका हरेक सामानकाे भाउ संसारभर महँगाे पर्न गयाे । यस्ताे अवस्थालाई ‘डच डिजिज’ भनियो ।

विप्रेषणमुखी अर्थतन्त्र भएकाले आयात सहज हुने र घरेलु उत्पादन प्रतिस्पर्धी बन्न नसक्ने अवस्था अहिले नेपालमा देखिन्छ, जुन नेदरल्यान्ड्सकाे अनुभवसँग मिल्दोजुल्दो असर हाे ।

त्यसैगरी, सन् १९९० को दशकपछि जापानमा न्यून ब्याजदर र प्रशस्त तरलता हुँदाहुँदै पनि खर्च र लगानी बढ्न सकेन । यस घटनालाइ ‘लिक्विडिटी ट्र्याप’ भनियाे । अहिले नेपाल यही अवस्थाबाट गुज्रिरहेकाे छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले तयार पारेकाे ‘आदर्श सीमा’ अनुसार कुनै पनि देशले ३ देखि ६ महिनाको आयात धान्न सक्ने सञ्चिति राख्नुलाई सुरक्षित मानिन्छ । नेपालकाे व्यापार असन्तुलन असाध्यै ज्यादा भएका कारण राष्ट्र बैंकले ७ महिनाकाे लक्ष्य राखेकाे हाे । तर त्याेभन्दा निकै बढी विदेशी मुद्रा थुप्रिनु भनेकाे ‘सुन्निएर माेटाउनु’ जस्तै हाे ।

अर्थशास्त्रमा प्रचलित ‘ग्रिनस्प्यान–गुइडोटी नियम’ अनुसार, कुनै पनि देशको विदेशी विनिमय सञ्चिति कम्तीमा एक वर्षभित्र तिर्नुपर्ने अल्पकालीन वैदेशिक ऋण बराबर हुनुपर्छ । नेपालले आ.व. २०८३/८४ मा ४ खर्ब १७ अर्ब ८८ करोड सार्जजनिक ऋण भुक्तानी गर्नुपर्ने भए पनि त्यसमा विदेशी ऋणकाे हिस्सा केवल ८९ अर्ब ७५ करोडमात्र छ । यस हिसाबले त हामीसँग चाहिनेभन्दा ४५ गुणा ज्यादा विदेशी विनिमय सञ्चिति छ ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ स्टिग्लिट्जले यसरी विदेशी मुद्रा थुपार्ने परिपाटीकाे विराेधमात्रै गरेका छैनन्, विदेशी मुद्रा लगेर असाध्यै सस्ताे ब्याज दिने अमेरिकी ऋणपत्रमा खन्याउनु पनि गरिब र विकासशील मुलुकहरूकाे मुर्खता भएकाे बताउँदै अाएका छन् ।

अर्का अर्थशास्त्री पल क्रुगम्यानले निजी क्षेत्रको विश्वास कमजोर हुँदा तरलता वा विनिमय सञ्चितिकाे ठूलाे भन्डार भए पनि यस्ताे मौद्रिक उपलब्धताले मात्रै अर्थतन्त्रलाइ गति दिन नसक्ने बताएका छन् । उनले यस्ताे हालतमा राज्यकाे प्रभावकारी हस्तक्षेप आवश्यक पर्ने विश्लेषण गरेका छन् ।

भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम राजनले त बाह्य सुरक्षाका लागि विनिमय सञ्चिति आवश्यक भए तापनि केन्द्रीय बैंकको ब्यालेन्स सिट अस्वाभाविक रूपमा ठूलो हुँदा त्यसले वित्तीय प्रणालीमा विकृति ल्याउन सक्ने भनेर चेतावनी नै दिएका छन् । यी सबै अर्थशास्त्रीहरूले जे कुरालाइ समस्या मानेका छन्, नेपाल अहिले त्यही भाेगिरहेकाे छ ।

व्यवस्थापकीय दक्षतामाथि प्रश्न

रु. ४१ खर्ब ६१ अर्बको विदेशी विनिमय सञ्चिति, तीन महिनामा भित्रिएको रु. ७ खर्ब ३ अर्ब विप्रेषण र ३८ प्रतिशत नाघेको तरलताले वित्तीय रूपमा सम्भावित आधार तयार पारेको भए पनि त्यसलाई लगानीमा रूपान्तरण गर्न नसक्नुले सरकार, राष्ट्र बैंक र नियामक निकायको कार्यक्षमतामाथि प्रश्न उठाएको छ ।

कमजोर पुँजीगत खर्च, नीतिगत अस्थिरता, प्रशासनिक तथा कानुनी प्रक्रियाको झन्झट र निजी क्षेत्रको मनोबल उकास्न नसक्नुले उपलब्ध स्रोत उपयोगविहीन बन्ने अवस्था सिर्जना गरेको छ । निजी क्षेत्रमाथि राज्यले सम्पत्तिकाे स्राेत खाेज्ने वितण्डा मच्चाएकाे अवस्थामा मानिसहरू पैसा निकाल्न, नयाँ काम थाल्न वा व्यावसायिक याेजनाहरूमा चर्चा गर्न समेत हच्किइरहेका छन् ।

यसैकाे परिणाम हाे, अचेल लगानीकाे कुराकानी खासै सुनिँदैन । शेयरकाे दोस्राे बजार समेत लामाे समयदेखि तल्लाे विन्दुमा अड्किएकाे छ र यसमा कसैकाे विस्वास बढ्ने लक्षण देखिँदैन ।

बैंकहरूमा पैसा थुप्रिएको छ, ब्याजदर सस्तो छ, र राष्ट्र बैंकसँग १७.२ महिनाको आयात धान्ने विदेशी मुद्रा छ । तर, निजी क्षेत्रले नयाँ उद्योग खोल्न र कर्जा विस्तार गर्न हिचकिचाइरहेको छ । यसले राज्यका व्यवस्थापकहरू नीतिगत स्थायित्व दिन र निजी क्षेत्रको विश्वास जित्न चुकेको स्पष्ट पार्छ ।

देशमा यति ठूलो मात्रामा विदेशी मुद्रा र बैंकिङ तरलता थुप्रिँदा पनि सरकारले विकास निर्माणका ठूला आयोजनाहरूमा पुँजीगत खर्च गर्न सकेको छैन । यदि जलविद्युत्, प्रसारण लाइन, सुरुङमार्ग र औद्योगिक पूर्वाधार निर्माणले गति लिन्थ्यो भने विदेशबाट ठूला मेसिनरी र निर्माण सामग्री आयात भई यो सञ्चितिको केही अंश उत्पादनमूलक क्षेत्रमा खर्च हुन्थ्यो ।

विप्रेषणबाट भित्रिएको रकम उपभोग र आयातमा केन्द्रित हुँदा स्वदेशी उत्पादन आधार बलियो बन्न सकेको छैन । राज्यका नीति निर्माताहरूले रेमिट्यान्सलाई ‘वैदेशिक रोजगार बचतपत्र’ वा ठूला पूर्वाधार परियोजनाको सेयरमा आकर्षित गर्न ठोस संयन्त्र बनाउन सकेका छैनन् ।

ढुकुटीमा देखिएको अंक र बैंकमा थुप्रिएको तरलतालाई उत्पादन, पूर्वाधार र रोजगारीसँग जोड्न स्पष्ट नीति, छिटो निर्णय र लगानीमैत्री वातावरण नबनाएसम्म यो वित्तीय सहजताले अर्थतन्त्रलाई गति दिन नसक्ने अवस्था कायमै रहने देखिन्छ ।