१० मंसिर २०८३, बिहिबार

११ बुँदे मागसहित किसान सञ्जालको चेतावनी : ‘कृषि क्षेत्रका समस्या समाधान नभए आन्दोलन गर्छौँ’



काठमाडौँ। राष्ट्रिय किसान सञ्जालले कृषि क्षेत्रका विविध समस्या र किसानका ११ बुँदे माग तत्काल सम्बोधन नभए चरणबद्ध र सशक्त देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । सञ्जालमा आबद्ध नौवटा प्रमुख किसान संघ–संगठनहरूको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराइएको हो ।

सञ्जालका संयोजक डा. प्रेम दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको उदासीनता र कतिपय निर्णयका कारण मुलुकको कृषि प्रणाली गम्भीर संकटतर्फ धकेलिएको उल्लेख छ । पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएको र बिचौलियाको मारमा किसान परेको सञ्जालको ठहर छ।

यी हुन् राष्ट्रिय किसान सञ्जालले अघि सारेका प्रमुख मागहरू:

नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा र रोजगारीको प्रमुख आधार मानिए पनि कृषि क्षेत्र लामो समयदेखि मल–बीउको अभाव, उत्पादनको उचित मूल्य नपाउने समस्या, बिचौलियाको सक्रियता र सरकारी नीतिगत अस्पष्टताका कारण दबाबमा रहँदै आएको छ।

हरेक वर्ष बाली लगाउने र भित्र्याउने सिजनमा किसानहरूले यिनै संरचनात्मक समस्या झेल्नुपरेको, तोकिएको समर्थन मूल्यमा समेत उपज बिक्री नहुने गरेको तथा प्राकृतिक विपद्, वन्यजन्तुको क्षति र ठूला सिँचाइ आयोजनाको ढिलाइले किसानको जीविकोपार्जन थप जोखिममा परेको पृष्ठभूमिमा सञ्जालले विगतदेखि उठाउँदै आएका मागसँगै केही नयाँ मुद्दा समेत जोडेर सरकारलाई दबाब दिन यी ११ बुँदा अघि सारेको हो।

१) कृषि सामग्रीको मूल्यवृद्धि नियन्त्रण र उत्पादन लागतमा राहत दिनुपर्ने

२) सरकारले तोकेकै समर्थन मूल्यमा धान खरिद गर्नुपर्ने र अन्य बालीको समेत मूल्य तोकिनुपर्ने

३) बाढीपीडित किसानलाई नि:शुल्क मल, बीउ, सिँचाइ, बिजुली र निर्व्याजी कर्जासहितको राहत दिनुपर्ने

४) दुधको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएर ८० पुर्‍याउनुपर्ने र वर्षौँदेखिको बक्यौता तत्काल भुक्तानी गर्नुपर्ने

५) रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने र स्वदेशमै मल कारखाना खोल्नुपर्ने

६) सुपारी निर्यातमा लगाइएको डीएनए परीक्षणको प्रावधान खारेज गरी बजारीकरण गर्नुपर्ने

७) वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्ती नभत्काउन र भूमिहीनको समस्या न्यायोचित रूपमा समाधान गर्नुपर्ने

८) वन्यजन्तुबाट हुने बाली क्षतिको नियन्त्रण र किसानलाई तत्काल पर्याप्त क्षतिपूर्ति दिनुपर्ने

९) उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १,०२५ रुपैयाँ तोक्नुपर्ने र उद्योगीबाट बक्यौता दिलाउनुपर्ने

१०) निकुञ्जका मध्यवर्ती क्षेत्रका बासिन्दाको परम्परागत अधिकार र जीविकोपार्जन सुनिश्चित गर्नुपर्ने

११) ठेक्का रद्द गरिएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य पारदर्शी ढंगले तत्काल अघि बढाउनुपर्ने

सरकारले किसानका मागलाई अब पनि बेवास्ता गर्ने, आलटाल गर्ने वा आश्वासनमै सीमित राख्ने काम गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारकै हुने सञ्जालले स्पष्ट पारेको छ ।

माग पुरा नभएमा सञ्जालमा आबद्ध अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, नेपाल पिछडावर्ग किसान संघ, जनता समाजवादी किसान महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय कृषक समूह महासंघ, राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ, राष्ट्रिय भूमि अधिकार मञ्च, फियान नेपाललगायत ९ वटै किसान संघ–संगठनहरूलाई एकताबद्ध गर्दै देशभरका किसानलाई संगठित गरी चरणबद्ध र सशक्त देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।