अब शुक्रबार पनि चेक क्लियरिङ हुने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौं । विहीबार साँझ एउटा बैंकमा अर्को बैंकले जारी गरेको चेक निक्षेप राख्दा दुई दिनपछिमात्रै खातामा पैसा आउने अहिलेको समस्याको अब अन्त्य हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ गर्न निर्देशन दिएको छ ।
अब शुक्रबार मध्यान्ह १२ बजेसम्म बैंकमा जम्मा गरेको चेक त्यसै दिन क्लियरिङ हुने भएको छ । शुक्रबारको सन्ध्याकालिन काउण्टरमा जम्मा भएको चेकको पैसा पनि आइतबारसम्म प्राप्त हुने छ । राष्ट्र बैंकले विद्युतीय चेक राफसाफ (इलेक्ट्रोनिक चेक क्लियरिङ– ईसीसी) सञ्चालनसम्बन्धी व्यवस्था परिवर्तन गरेको हो ।
अबदेखि शुक्रबारका लागि ११ः३० बजे एक्सप्रेस क्लियरिङ र १२ः३० बजे नियमित क्लियरिङ सत्र सञ्चालन गर्नुपर्ने केन्द्रिय बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कडेलले सोमबार यस्तो निर्देशन जारी गरेका हुन् ।