कोरोनाः प्रयोगशालामा भाइरस बनाएको थुप्रै प्रमाण भेटिएको दाबी, छानबिन गर्न अमेरिकाको माग « Arthapath.com
१२ जेष्ठ २०७८, बुधबार

कोरोनाः प्रयोगशालामा भाइरस बनाएको थुप्रै प्रमाण भेटिएको दाबी, छानबिन गर्न अमेरिकाको माग



काठमाडौं । अमेरिकाले कोरोनाभाइरसको उत्पत्तिबारे निष्पक्ष र पारदर्शी छानबिन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई आह्वान गरेको छ । विश्वभरि प्राण घातक महामारी निम्त्याएको यो भाइरसको उत्पत्तीबारे अमेरिका र चीनबीच पहिलेदेखि नै जुहारी चल्दै आएको थियो ।

अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन् । अमेरिकी सञ्चारमाध्यममा उक्त भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका थुप्रै प्रमाण फेलापरेको खबरहरु सार्वजनिक भएका छन् ।

यो भाइरस सबैभन्दा पहिले सन् २०१९ को नोभेम्बरमा चीनको हुपेई प्रान्तको वुहानमा देखा परेको थियो । यही कारण विश्व स्वास्थ्य संगठनले यो महामारी निम्त्याउने रोगको नाम नै ‘कोरोना भाइरस डिजिज (कोभीड)-१९’ राखिदिएको थियो । यो भाइरस २०२० को जनवरीबाट कोरिया, जापान र युरोपमा एकसाथ पुग्यो । त्यसपछि युरोपबाट यसले महाविपत्तीको स्वरुप ग्रहण गरेको थियो ।

त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ८५ लाखभन्दा धेरै मानिस प्रभावित भइसकेका छन् भने ३५ लाखभन्दा ज्यादाको गइसकेको छ । कोरोनाभाइरसको उत्पत्तिबारे अमेरिकी राष्ट्रपति र गुप्तचरहरूको मत बाझिएको बीबीसीले जनाएको छ । यद्यपि, यसै वर्षको मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना ‘अत्यन्तै थोरै भएको’ उल्लेख थियो ।

यस्तो तर्कले प्रयोगशालामा उत्पत्ती भएको कुरालाई पूणर्तः नकार्न नसकेपछि त्यसबारे थप अध्ययन जरुरी भएको भनिएको थियो । अमेरिकी जासुसी सूत्रको हवाला दिइएका समाचारमा सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ । त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको बताइएको छ ।

यसै सन्दर्भमा डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताएको बीबीसीले उल्लेख गरेको छ । बेइजिङले भने ती विवरणमाथि रिश पोखेकोमात्र छैन, त्यसलाई खारेज गरिदिएको छ । चिनियाँ अधिकारीले उल्टै उक्त भाइरस अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएका छन् ।

मङ्गलवार (गएराती) डब्ल्यूएचओको बैठकमा अमेरिकी अधिकारीले अर्को चरणको छानबिन थप सघन र पारदर्शी हुने आशा गरिएको बताएका छन् । मङ्गलवार नै ह्वाइट हाउसले पनि डब्ल्यूएचओबाट विज्ञहरूद्वारा सञ्चालित र राजनीतिकरणबाट मुक्त ढङ्गले महामारीको उत्पत्तिबारे छानबिन गर्ने आशा गरेको जनाएको थियो ।

ट्रम्पको त्यो दाबी

गत वर्ष तत्कालिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट फैलिएको दाबी गरेका थिए । तर चीन र बाँकी विश्वमा पनि उनको यस दाबीलाई खण्डन गरियो । चीनले यसलाई षड्यन्त्रको सिद्धान्त भन्दै खारेज गरिएको थियो । त्यसो त, कोरोनाभाइरस प्रकोपको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सङ्क्रमणबाटै मृत्यु भएको थियो । चीन सरकारले उक्त चेतावनीबारे सूचना फैलाउन सहयोग गर्नेहरुलाई पनि पक्राउ गरेको समाचारहरु आएका थिए ।

कैयौँ अमेरिकी सञ्चारमाध्यमले पनि त्यसबेला ट्रम्पको दाबीलाई झुटो भनेका थिए । उनीहरुले राष्ट्रपतिको ठूलै आलोचना पनि गरेका थिए । पछिल्ला विवरणप्रति ट्रम्पले प्रतिक्रिया जनाएका छन् । बीबीसीका अनुसार उनले मङ्गलवार न्यूयोर्क पोस्टलाई एक इमेल लेख्दै आफूलाई ‘उक्त विषय शुरूमै थाहा भएको तर सदाझैँ निकै आलोचित हुनुपरेको’ भनेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्