एक वर्षमा यति ठूलो पूँजी निर्माण धितोपत्र बोर्डको २९ वर्षे इतिहासकै पहिलो घटना होः अध्यक्ष ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले धितोपत्रको दोस्रो बजारमा सेयरको मात्रै कारोबार हुने भएकाले नयाँ उद्योगधन्दाको विकासमा सघाउ नपुग्ने बताएका छन् । अर्थपथसँग कुरा गर्दै उनले भने, “सेयरको दोस्रो बजारमा भएकै सेयरको ब्यापार हुने मात्र हो, यसले नयाँ उद्योगधन्दाको विकासमा सघाउ पुग्दैन, पूँजी निर्माण गर्ने भनेको प्राथमिक बजारले हो ।”
त्यसैगरी अध्यक्ष ढुंगानाले गएको १० महिनामा ७८ अर्ब रुपैयाँको धितोपत्र निष्काशन गरेर २९ बर्षको ईतिहास रचेको बताए । गत बर्ष कीर्तिमानी स्तरको सफलता पाएको र १० महिनामा ७८ अर्ब रुपैयाँको धितोपत्र निष्काशन गरोको उनले बताए । “एकै वर्षमा यति ठूलो पूँजी निर्माण भएको यो धितोपत्र बोर्डको २९ वर्षे इतिहासकै पहिलो घटना हो, गत वर्षको तुलनामा यो शतप्रतिशत बृद्धि हो, गतवर्ष हामीले ३३ अर्ब रुपैयाँको निष्काशन अनुमति दिएका थियौं ।” बैंक तथा वित्तीय संस्थाका कम्पनीको सेयर हिस्सा ७० प्रतिशत रहेको उनको भनाई छ ।
पछिल्लो तथ्याङ्क अनुसार बजारमा सर्वसाधारणको सहभागिता भारी मात्रामा बढेको उनी बताउँछन् । पहिले थोरै मान्छेले बजारमा मूल्य घटाउने, बढाउने गर्थे भने अब त्यो सम्भव नभएको उनले बताए ।