कोरोनाकै बीच ५० वटा नयाँ ‘इनिसियटिभ्स’मा बोर्डले काम गरेको छः भीष्म ढुंगाना « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

कोरोनाकै बीच ५० वटा नयाँ ‘इनिसियटिभ्स’मा बोर्डले काम गरेको छः भीष्म ढुंगाना



सेयर बजार, सामुहिक लगानी कोष, कमोडिटी बजार र अब भेञ्चर क्यापिटल तथा इक्वीटि इन्भेस्टमेण्ट कम्पनीसमेतको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डले आज स्थापनाको २९ औं वार्षिकोत्सव मनाउँदै छ । यति लामो इतिहास भएको संस्थाले पनि वित्तीय बजारको एउटा नियामकका रुपमा अझै स्वायत्त अस्तित्व हासिल गर्न नसकेको भन्ने गुनासो लामो समयदेखि सुनिँदै आएको छ । नेपाली धितोपत्र बजारको विस्तार र विकासमा बोर्डले चालेका पछिल्ला कदम र यसको असरबारे बोर्ड अध्यक्ष भीष्मराज ढुंगानासँग अर्थपथले गरेको कुराकानी यहाँ उल्लेख छ ।

सेयर बजारमा ठूलो आकारमा कारोबार हुन थालेको छ । यससँगै सेयर बजारमा आम जनसहभागिता बढाउन के काम भएको छ ?

बजारले वास्तवमै गति लिन थालेको छ । बजारको मूल्यांकन गर्ने पहिलो आधार भनेको नै सर्वसाधारणको सहभागिता हो । पोहोर असार मसान्तमा १७ लाख डिम्याट खाता थिए । अहिले ३५ लाख नाघेको छ । यसले एक वर्षमा सेयर बजारमा जनताको सहभागिता दोब्बर भएको देखिन्छ । मेरो सेयरको लगइन लिनेको संख्या गतसाल ७ लाख थिए भने अहिले २६ लाख पुगेको छ । यो एपले प्राथमिक सेयरमा लगानी गर्न, आफ्नो. सेयरका पोर्टफेलियो हेर्न सुविधा दिन्छ । यस्तो प्लेटफर्ममा जनसहभागिता झण्डै ४ गुणा बढेको छ ।

सार्वजनिक निष्काशनको तथ्यांक हेर्ने हो भने एक वर्षअघि ५ लाख मान्छेले एउटा आईपीओमा आवेदन दिन्थे भने अहिले एउटै आईपीओमा भाग लिनेको संख्या १८ लाख पुगेको छ । दोस्रो बजारमा कारोबार गर्नका लागि टीएमएस लगइन सुविधा लिनेको संख्या गतसालसाँ जम्मा ३५ हजार थिए । अहिले त्यो संख्या ६ लाख नाघिसकेको छ । यी तथ्यांकले बजारमा अहिले सर्वसाधारणको सहभागिता भारी मात्रामा बढेको छ । पहिले थोरै मान्छेले बजारमा मूल्य घटाउने, बढाउने गर्थे भने अब त्यो सम्भव छैन । बजारको कायापलट भएको छ ।

पूँजी बजारमा सट्टेबाजीमात्रै भयो, पूँजी निर्माणमा सहयोग पुगेन भन्ने पहिले देखिकै गुनासो थियो । त्यसलाई सुधार गर्ने प्रयास भएका छन् ?

सेयरको दोस्रो बजारमा भएकै सेयरको ब्यापार हुने मात्र हो । यसले नयाँ उद्योगधन्दाको विकासमा सघाउ पुग्दैन । पूँजी निर्माण गर्ने भनेको प्राथमिक बजारले हो । र त्यसमा हामीले गत वर्ष कीर्तिमानी स्तरको सफलता पाएका छौं । गएको १० महिनामा मात्रै हामीले ७८ अर्ब रुपैयाँको धितोपत्र निष्काशन गरको छौं । एकै वर्षमा यति ठूलो पूँजी निर्माण भएको यो धितोपत्र बोर्डको २९ वर्षे इतिहासकै पहिलो घटना हो । गत वर्षको तुलनामा यो शतप्रतिशत बृद्धि हो । गतवर्ष हामीले ३३ अर्ब रुपैयाँको निष्काशन अनुमति दिएका थियौं ।

अहिले बैंक तथा वित्तीय संस्थाका कम्पनीको सेयर हिस्सा ७० प्रतिशतजति छ । हामीले उत्पादनमुलक क्षेत्रका कम्पनीको पूँजी निर्माणमा पनि सहयाग गर्न बूक बिल्डिङ सुविधा ल्याएका छौं । यसले प्राथमिक बजारको विकासका लागि ठूलो योगदान गर्छ । अब धेरै उत्पादनमुलक उद्योग, अस्पताल, जलविद्युत् कम्पनी, पर्यटन सेवामुलक उद्योगहरु सेयर बजारमा आकर्षित हुने अवस्था छ । प्राथमिक बजारमा सामुहिक लगानी कोषको उपस्थिति पनि उत्साहप्रद छ । यो वर्ष हामीले साढे ६ अर्ब रुपैयाँको म्युचुअल फण्ड नयाँ निष्काशनको अनुमति दिएका छौं । अहिले सामुहिक लगानी कोषको बजार आकार पनि २२-२३ अर्बको भइसकेको छ ।

दोस्रो बजारको कारोबारलाई नियामकले कसरी नियालिरहेको छ ?

दोस्रो बजारमा पनि यो वर्ष नयाँनयाँ रेकर्ड बनाइरहेको छ । पोहोर साल असार मसान्तमा नेप्से सूचक १३६२ अंकमा थियो । अहिले हामी २९०० अंकमा पुगेका छौं । यो पनि शतप्रतिशतभन्दा धेरैको बृद्धि हो । बजार पूँजीकरणलाई हेर्ने हो भने पनि गतसाल कुल गार्हस्थ उत्पादन(जीडीपी)को ४५ प्रतिशत थियो भने अहिले आएर झण्डै जीडीपीको बराबर बजार पूँजीकरण पुगिसकेको छ । कुल बजार पूँजीकरणमा कारोबार रकमको अनुपात पनि बढ्दै गएको छ ।

कारोबारको आकार पनि असाध्यै उत्साहजनक रुपले बढेको छ । पोहोर साल वर्षभरीमा ९.७५ खर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । यो वर्ष कारोबार रकम ६ गुणा बढिसकेको छ । एकै दिनमा भएको धितोपत्रको कारोबार हेर्ने हो भने गएको जेठ १६ गते १७ अर्ब रुपैयाँ नाघेको छ । यसले बजारको कारोबार पनि हालसम्मकै उच्च स्थितिमा रहेको छ । पोहोर साल दैनिक औषत ४५ करोडको कारोबार हुने सेयर बजारमा यो वर्ष ५ अर्बको औषत कारोबार भइरहेको छ । यसरी करोबार बढ्नु भनेको राम्रो संकेत हो ।

बजार सू्रचक बढिरहेको र कारोबार आकार पनि बढिरहेको छ । यसले नयाँ लगानीकर्तालाई जोखिम बढाएको छैन ?

बजारको जोखिम मूल्यांकन लगानीकर्ता स्वयम्ले गर्नुपर्छ । म कुन कम्पनीको सेयरमा लगानी गदै्र्र छु, त्यो कम्पनीले कति प्रतिफल दिइरहेको छ, त्यस कम्पनीको नेटवर्थ कस्तो छ, त्यो कम्पनीको सेयर किनेँ भने मैले चाहेको बेलामा विक्री हुन्छ की हुँदैन भन्ने कुरा लगानीकर्ताले हेर्नुपर्छ ।

यसका अलवा पीई रेसियोजस्ता विभिन्न अनुपातहरु पनि मूल्यांकन गरेर लगानी गर्ने निणर्य लिनुपर्छ । हाम्रोमा अहिले सबै सेयरमा समान किसिमको जोखिम छैन । कुनै कम्पनीमा कम जोखिम र कुनैमा बढी जोखिम हुन्छ । कस्तो सेयरमा लगानी गर्ने र कति जनोखिम बहन गर्ने भन्ने लगानीकर्ता स्वयम्ले मूल्यांकन गर्नुपर्छ ।

सामान्यतया घट्दो बजारमा तल्लो विन्दुमा लगानीकर्ता प्रवेश गर्दा जोखिम कम हुन्छ । बढ्दो बजारमा लगानी गर्दा जोखिम बढी हुन्छ । त्यसैले हामीले बेलाबेलामा लगानीकर्तालाई सुझबुझपूणर् हिसाबले लगानी गर्न आग्रह गर्ने गरेका छौं ।

बढ्दो बजारमा सेयरको कर्नरिङ हुने गरेको र यसले बहुसंख्यक लगानीकर्तालाई जोखिम थपेको गुनासो आइरहेको छ । नियामकीय प्रबन्धबाट यसलाई नियन्त्रण गर्ने बाटो किन खोजिएको छैन ?

हामीले जसरी सर्किट ब्रेकरको व्यवस्था गरेका छौं, विकसित मुलुकमा त्यस्तो सीमा नै छैन । ती बजारमा एकै दिन २-३ सय प्रतिशत परिवर्तन भइरहेको हुन्छ । हाम्रो बजारमा अहिले जुन किसिमको परिसूचक तयार पारिएको छ, त्यो वैज्ञानिक गणनाविधीमा छैन । अहिले हामीले यो सूचक गणना बिधिलाई वैज्ञानिक ढंगको बनाउन भनिसकेका छौं । अर्कोकुरा विदेशमा हाम्रोजस्तो सबै सेयरलाई एउटै प्लेटफर्ममा राखिन्न । हाम्रोमा १ करोडको कम्पनी आए पनि त्यही प्लेटफमर्ममा बस्छ, १०० अर्बको कम्पनी आए पनि एएटै प्लेटफर्ममा बस्छ ।

विदेशमा ओटीसीका लागि छुट्टै प्लेटफर्म छ । साना र मध्येमखाले कम्पनीका लागि अलग्गै प्लेटफर्म दिइएको छ । त्यस्ता कम सेयर भएका कम्पनीको कारोबार गर्ने प्लेटफर्ममा हाम्रोजस्तै कारोबारका सीमाहरु तोकिएका छन् । तर ठूला कम्पनीको कारोबार गर्ने प्लेटफर्ममा त्यस्तो छैन । साना कम्पनीको सेयर भएका बजारमा मूल्यलाई कृत्रिम रुपमा तलमाथि गर्न सक्ने संभावना हुन्छ ।

हामीले अहिले नेप्सेलाई पनि यही कुराहरुमा सुधार गर्न भनेका छौं । अहिले म्यानुअल रहेको ओटीसी बजारलाई पनि मेकाजाइज्ड गर भनेका छौं । एसएमई प्लेटफर्मका लागि हामीले अध्ययन गराइसकेका छौं । त्यो अध्ययन प्रतिवेदनमा छलफल हुँदैछ । त्यसपछि हामी नेप्सेलाई तिमी यो खालको एसएमई मार्केट प्लेटफर्म बनाउ भनेर हामी भन्छौं । र नेप्सेको अहिलेको सूचकलाई बजारको वास्तविक झलक दिने स्वरुपमा ढाल्दै छौं । यी तीनवटा कामहरु सँगसँगै अघि बढिरहेका छौं ।

बजार सूचक यसरी नै बढिरह्यो भने बोर्डले त्यसलाई नियन्त्रण गर्न कुनै प्रयत्न गर्ने योजना छ ?

बजारमा मूल्य बढ्ने वा घट्ने प्राकृतिक कुरा हो । यसमा नियामकले यो मूल्य बढाउ वा घटाउ भन्दैन । तर कुनै कम्पनीको मूल्य बढिरहँदा वा घटिरहँदा नियोजित हिसाबले पो मूल्य चलाइराखिएको छ की भनेर चाहीँ बोर्डले हेर्छ । उदाहरणका लागि कुनै सेयरको कर्नरिङ गरेर त्यसो भएको छ की छैन, सर्कुलर ट्रेडिङ गरेर भएको छ की छैन, अथवा सेयरको माग र आपूर्तिलाई अवरोध गरेर कुनै कृयाकलाप गरिएको छ की छैन भनेर हेरिन्छ । त्यो गर्ने मान्छे को हो, आफैं किन्ने र आफैं बेच्ने पो गरिरहेका छन् क ीभनेर बोर्डले हेरिरहेको हुन्छ ।

अझै पनि सेयर बजारको अभौतिकीकरणले पूणर्ता पाएको छैन । यो काम कहिले टुंगिन्छ ?

गतसाल बन्दाबन्दीको बेलामा हामीले बजार सञ्चालन गर्न नसकेर ३ महिना बन्द गरेकै हो । तर अहिले त्यसमा धेरै सुधार गरेर यो वर्ष अनवरत रुपमा बजार सञ्चालन भएको छ । यसबीचमा हामीले केही कुराहरु विकास गरिसकेका छौं । अब बैंक खाता र डीपी खातालाई कारोबार प्रणालीमा आबद्ध गर्न बाँकी छ । तथापि, अहिले हामी अनलाइनमा कारोबार गर्नसक्ने अवस्थामा पुग्यौं ।

त्यहीकारण अहिले निषेधाज्ञाको बेलामा समेत उद्योगको पैसा पनि यहीँ आएको छ, व्यापारको पैसा पनि यहीँ आएको छ । आयात निर्यात, रियल इस्टेट, बैंक तथा वित्तीय संस्थाको तरलताको पैसादेखि घरगृहस्थिमा भएका मान्छेको पैसा पनि सेयर बजारमै आएको छ । विद्यार्थीहरुले पनि अहिले लगानी बढाएका छन् । विदेशमा हुने नेपालीले पनि नेपालको बजारले स्थायित्व पाएको छ भनेपछि एनआरएन लगायतले लगानी गरिरहेका छन् । सबैतिरबाट पैसा आएको छ ।

यसको मतलव सधैंभरी यस्तो हुन्छ भन्ने चाहीँ होइन । यो महामारीको असर सकिएपछि अहिले सेयर बजारमा आएको पैसा केही मात्रामा फिर्ता हुन्छ भन्ने हामीले अनुमान गरेका छौं । यसले हामी बजारको पुर्वाधार विकासमा धेरै काम गरिरहेको र बाँकी काम चाँडो टुंग्याउने दिशामा छौं ।

बुक बिल्डिङ विधीबाट प्राथमिक सेयरको निष्काशन गर्न केही कम्पनी हतारिइरहेका छन् । तर बोर्डले आवस्यक स्वीकृति दिनमा ढिलाइ किन गरेको हो ?

यसमा सबैभन्दा पहिले एउटा सिमेण्ट उद्योग आउन लागेको थियो । त्यसलाई आईपीओ जारी गर्न अनुमति दिने विचार हामीले गरेका थियौं । तर त्यो कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि एक आर्थिक वर्षको व्यालेन्ससीट तयार भएको रहेन छ । त्यस कारण यो असारमसान्तपछिमात्रै उसलाई आइपीओको अनुमति दिनसक्ने अवस्था छ । अरु कम्पनीहरु पनि तयारीमा छन् । पहिले यो आइहोस्, अनि हामी पनि सुरु गरौंला भनेर बसेका छन् । कम्पनीहरु आउन तयार भएर बसेका छन् । हामीले सबै सिस्टम बनाइदिएका छौं ।

कारोबार कसरी गर्ने, सेयर निष्काशन कसरी गर्नेभन्ने सबै प्रबन्ध भइसकेको छ । सक्षम लगानीकर्ताको अभाव थियो । तर हामीले यही बीचमा करीब १०० वटा संस्थागत लगानीकर्ताको इजाजत दिइसकेका छौं । कम्पनीहरुले आफैंले पेश गर्नुपर्ने केही कागजात पेश गर्न नसकेर यो वर्ष आईपीओ आउन नसकेको हो । अर्को आर्थिक वर्षबाट आउन थाल्छ ।

धितोपत्र बजारको विकासमा चाहीँ बोर्डले अहिले के काम गरिरहेको छ ?

कोभीडको यस्तो बेलामा पनि हामीले यो आर्थिक वर्षमा झण्डै ५० वटा कामहरु सम्पन्न गरेका छौं । त्यो ५० वटा कामले पूँजीबजारलाई राम्रै सहयोग गरेको छ । ती काममध्ये हामीले आधा दर्जन नियमावलीहरुमा संशोधन गर्यौ । झण्डै आधा दर्जन नै निर्देशिकाहरु हामीले तयार गर्यौं । विद्युतीय ग्राहक पहिचान (ई-केवाईसी) लागू भएको छ । सूचनाप्रविधीसँग सम्बन्धित नीतिहरु जारी भएका छन् । बजारका सूचीकृत कम्पनी र इजाजतप्राप्त संस्थाहरुले कागजको ढड्डा बोकेर हिंड्नुपर्ने व्यवस्था हडाउन ई-आरआरएस प्रणाली लागू गरिएको छ ।

ब्रोकरलाई मार्जिन कलको व्यवस्थामा सहजिकरण गर्ने व्यवस्था भएको छ । ब्रोकर कमिशन दर घटाएर साना लगानीकर्तालाई लाभ पुर्याइएको छ । त्यसबाहेक हामीले सक्षम लगानीकर्ताको विकासमा काम गरेका छौं । कम्पनीहरुलाई समयमै सबै विवरणहरु पेश गर्न निर्देशन जारी भएको छ । ५ वर्षको वित्तीय विवरण अनिवार्य राख्नुपर्ने व्यवस्था भएको छ । सरकारी ऋणपत्रको डिम्याटको काम अघि बढाउन हामीले राष्ट्र बैंकलाई भनेका छौं । राष्ट्र बैंकले यसका लागि समिति बनाएर लगभग अन्तिम चरणमा पुगिसकेको छ ।

सीडीएससीको पुनरसंरचना र क्षमता विस्तारका लागि काम सुरु भएको छ । यसका लागि सूचनाप्रविधी सम्बन्धी ठेक्का प्रक्रिया अघि बढिसकेको छ । सीडीएससीमा सरोकारवाला निजी क्षेत्रको समेत सेयर स्वामित्व दिनेगरी मोडालिटी परिवर्तन गरिरहेका छौं । सेयर कारोबारलाई सहज बनाउन असार मसान्तदेखि १ अर्बको कोष बनाउने योजनासाथ यस वर्ष नै ५० करोड रुपैया लगानी गर्ने निर्देशन दिइसकेका छौं ।

जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल लागू गरिएको छ । समयमै विवरण पेश नगर्ने कम्पनीलाई कुनै पनि किसिमको कारबाही हुने व्यवस्था थिएन । त्यसलाई हामीले कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव अघि बढाएका छौं । हाम्रो प्रणालीमा संस्थागत विकास कमजोर थियो । यस्तो सुधारले धितोपत्र बजारको विकासमा ठूलो योगदान गरिरहेको छ र भविष्यमा अझ व्यवस्थित बनाउन सहयोग पुग्छ ।

धितोपत्र बोर्ड अब संस्थागत लगानीकर्ताको संख्या बढाउनमा बढी केन्द्रित हुन थालेको हो ?

लगानीकर्ता बढाउने भन्दा पनि हामीले बजारको दिगो विकासलाई सहयोग पुग्ने गरी संस्थागत लगानीकर्ताको व्यवस्था गरेका हौं । यसले धितोपत्र बजारलाई विस्तार गर्न र आधुनिकीकरण गर्न पनि योगदान गर्ने छ । हामीले यस वर्ष स्टक डिलरलाई प्रवेश गराएका छौं । यो ठूलो उपलब्धी हो । प्राइभेट भेञ्चर ईक्वीटी क्यापिटल कम्पनीको व्यवस्था थिएन । हामीले यही वर्ष ५ वटा त्यस्ता कम्पनीलाई अनुमति दिइसकेका छौं ।

कमोडिटी बजार सञ्चालन गर्नका लागि नीति नै नबन्नाले काम अघि बढ्न सकेको थिएन । हामीले यो वर्ष नीति तयार पारेका छौं । अब हामी इजाजत आह्वान गरेर अघि बढाउँछौं । त्यस्तै गोदाम व्यवस्था, कमोडिटी क्लियरिङ व्यवस्थाजस्ता कुरा पनि योसँगै जोडिएर आउने छ । त्यस्तै डेरिभेटिभ बजारका लागि पनि हामीले अध्ययन गराइसकेका छौं । त्यसलाई पनि छिट्टै लिएर आउँछौं । धितोपत्र दलालको लाइसेन्स बन्द गरिएको थियो । त्यसलाई पनि अब हामी खुला गरेर अघि बढाउने तयारीमा छौं ।

बोर्डको आफ्नो क्षमता विस्तार हुन नसक्दा धितोपत्र बजारको नियमनमा प्रभावकारी भूमिका खेल्न सकेन भन्ने तर्क गरिन्छ । यसलाई सुधार गर्ने प्रयास चाहीँ किन हुँदैन ?

धितोपत्र बोर्ड २९ वर्षसम्म भाडाको घरमा बस्दै आएको छ । अब आफ्नै कार्यालय बनाउनका लागि हामीले जग्गाको व्यवस्था गरेका छौं । आफ्नै किसिको घर बनाउँछौं । नियामकीय क्षमता अभिबृद्धिका लागि हामीले अन्तरराष्ट्रि बहुपक्षीय विकास साझेदार संस्थाहरुसँग सम्झौता गरेर काम अघि बढाइएको छ । आईक्यान र टोरन्टो सेण्टरजस्ता संस्थासँग पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बोर्डको क्षमता कमजोर भएका कारण जनशक्ति विकासका लागि नयाँ ओएनएम गरेर झण्डै ५० प्रतिशत कर्मचारी थप्ने तयारी भएको छ । त्यसले हाम्रो निरिक्षण र सुपरिवेक्षण क्षमता विकास हुने छ । त्यस्तै हामीलेब्लेण्डेड फाइनान्सको सन्दर्भमा पनि कामहरु भइरहेको छ । नयाँ सफ्टवयरहरु किन्ने भनेर यो वर्ष बजेटमा व्यवस्था भएको छ ।


प्रतिक्रिया दिनुहोस्