राष्ट्र बैंकको नयाँ नीतिपछि ऋणीमाथि कर्जा तिर्न दबाब बढ्न सक्ने « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

राष्ट्र बैंकको नयाँ नीतिपछि ऋणीमाथि कर्जा तिर्न दबाब बढ्न सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको जोखिमबापत पहिलेभन्दा बढी पैसा छुट्याउनुपर्ने व्यवस्था गरिदिएपछि बैंकहरु कर्जा नउठेका ऋणीप्रति ‘कठोर’ बन्ने देखिएको बैंकरले बताएका छन् । राष्ट्र बैंकले अझै एक महिनासम्म उठेको ब्याज र किस्तालाई समेत गत आर्थिक वर्षको नाफामा देखाउन पाउने व्यवस्था गरेपछि बैंकरहरु ऋण अशूलीमा बढी जोड दिन लागेका हुन् ।

‘सबै सीईओहरुलाई लाभांश बढाउने दबाब छ,’ एक बैंकरले भने, ‘यस्तो बेला राष्ट्र बैंकले तत्कालको लाभांशमा असर पर्ने गरी नीति ल्याइदिएपछि अब बचेको एक महिनामा सकेसम्म आम्दानी बढाउने नै विकल्प बाँकी छ ।’ अहिलेको अवस्थामा थप पैसा उठाउन नसके बैंकहरुको लाभांश क्षमता २५ प्रतिशतसम्म कम हुनसक्ने बैंकरले बताएका छन् ।

राष्ट्र बैंकको नयाँ नीतिको असर अब ऋणीमाथि पर्ने भएको छ । त्यसो त, साना तथा मझौला ऋणीले यसअघि नै सकेजति ऋण तिरिसकेका छन् । बैंकरका अनुसार करीब ९० प्रतिशत ऋण उठिसकेको छ । ठूला ऋणीले भने पोहोरजस्तै केही महिना पछि ब्याज तिर्दा पनि हुने गरी राष्ट्र बैंकले छुट दिनसक्ने भन्दै किस्ता र ब्याज नतिरि बसेका थिए ।

‘पैसा भएर पनि छुट सुविधा पाइन्छ की भनेर बसेका ऋणीलाई ताकेता गर्न एक महिनाको अवधी पाइएको छ,’ ती बैंकरले भने । यस्तो नीतिले पर्यटन लगायत क्षेत्रका थोरै संख्यामा रहेका ऋणीलाई भने कर्जा तिर्ने दबाब सिर्जना गर्न सक्ने उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्