क्लियरिङ हाउसको कारोबार जीडीपीको तीन गुणा « Arthapath.com
२० असार २०८२, शुक्रबार

क्लियरिङ हाउसको कारोबार जीडीपीको तीन गुणा



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का विभिन्न प्रणालीमार्फत फर्छ्योट गरिएको नगदरहित भुक्तानी कारोबार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा तीन गुणा बढी छ । एनसीएचएलले ईसीसी, आईपीएस र कनेक्ट आईपीएसलगायत विभिन्न प्रणालीमार्फत भुक्तानी कारोबार गर्दै आएको छ । 

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, नेपाल सरकारलगायत अन्य विभिन्न संघसंस्थाले प्रयोग गर्ने एनसीएचएलका सिस्टममार्फत उल्लिखित रकमको कारोबार भएको विज्ञप्तिमा उल्लेख छ । गत आर्थिक वर्षमा एनसीएचएलले कुल ४ करोड ४७ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्योट गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय १७ प्रतिशत बढी हो ।

‘रकमका आधारमा १३ खर्ब रुपैयाँ, २०.९ करोड अमेरिकी डलर, २४.९ करोड युरो र २७.२ करोड जीडीपी बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीमार्फत फर्छ्योट गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ । यसैगरी चेकको कारोबार २१, एनसीएचएल आईपीएसमा ९४ र कनेक्ट आईपीएसमा ५६६ प्रतिशत कारोबार वृद्धि भएको कम्पनीको दाबी छ । ‘यसरी तथ्यांक हेर्दा चेकबाट हुने कारोबारको वृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरूको उपायोग उल्लेख्य वृद्धि हुँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेसनल पेमेन्ट स्विच (एनपीएस) मार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने कम्पनीको दाबी छ । एनसीएचएल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाबाट प्रवर्द्धित कम्पनी हो । यो कम्पनीले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका लागि राष्ट्रियस्तरका भुक्तानी तथा फर्छ्योटका प्रणाली निर्माण तथा सञ्चालन गर्दै आएको छ । कम्पनीमा ५९ बैंक वित्तीय संस्था, २३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्स्योरेन्स कम्पनी, १२ सरकारी तथा अर्धसरकारी निकाय र अन्य ७ विभिन्न संघसंस्था आबद्ध छन् ।कान्तिपुरबाट


प्रतिक्रिया दिनुहोस्