२५ श्रावण २०८३, सोमबार

नबिल छाडेर बीओकेको सीईओ बन्दै सुजित शाक्य, नबिलमा कसको चम्केला भाग्य ?



काठमाडौं । नबिल बैंकको डेपुटी सीईओ सुजीत शाक्य बैंक अफ काठमाण्डू (बीओके)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त हुने संभावना रहेको छ । ग्लोबल आईएमई छाडेर नबिल आएका शाक्य फेरी बिओके जाने चर्चाले बजार तातेको छ । बिओकेको संचालक समितिले शाक्यालाई सीईओ बनाउन दुई चरण कुरा गरिसकेको स्रोतको दावी छ ।

नबिलमा वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल सकिँदै छ । शाह ७ असार २०७५ मा नबीलको सीईओ नियुक्त भएका थिए । उनी अब ८ महिनाभन्दा पनि कम समयमात्रै सीईओ रहन पाउने छन् । बैंक स्रोतका अनुसार उनलाई दोस्रो कार्यकालको अवसर प्राप्त हुने संभावना कम रहेको नविल स्रोतले बताएको छ । केही महिना अघिदेखि नै नबिलमा नयाँ सीईओको खोजि सुरु भइसकेको थियो ।

सुजित शाक्यलाई पनि नबिलको सम्भावित सीईओकै रुपमा बैंकमा भित्र्याइएको थियो । यही कारण उनी नबिलमै लामो करियर बनाएका विनयकुमार रेग्मीभन्दा श्रेष्ठ बरियतामा डेपुटी सीईओ बनेका थिए ।

सुजित हिँडेपछि नबिलमा विनय रेग्मी नै सीईओका लागि प्रमुख उमेदवार हुन् । यसपछि भने महाप्रबन्धक मनोज ज्ञवाली सीईओको प्रतिस्पर्धामा आउन सक्छन् । बाहिरबाट नयाँ सीईओ नल्याउने हो भने विनय र मनोजमध्ये छान्नुपर्दा चौधरीको समूहले मनोजलाई नै छान्नसक्ने संभावना बढी रहेको बैंकका अधिकारीहरु बताउँछन् ।

१४ महिना अघिमात्रै नबिल भित्रिएका ज्ञवालीलाई बैंकले गत १ कात्तिकबाट लागु हुने गरी बढुवा गरेर महाप्रबन्धक बनाएको छ । त्यो पनि उनीभन्दा बरिष्ठ नायब महाप्रबन्धक आदर्श बजगाईँलाई छाडेर । आदर्श अन्तर्राष्ट्रिय वित्त र नीतिगत विषयमा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीपछिकै सबैभन्दा उत्कृष्ट बैंकरको रुपमा चिनिन्छन् ।

मनोज राष्ट्र बैंकका पूर्व कर्मचारी भएका कारण उनी केन्द्रिय बैंकका अधिकारीहरुमाथि हाबी हुन सक्छन् । धेरैसँग मीत्रवत सम्बन्ध भएका कारण उनलाई सीईओ बनाउँदा लाभ हुने परिदृष्य देखेरै सञ्चालक समितिले उनको बढुवा गरेको बैंकका अधिकारीहरु बताउँछन् । नयाँ सीईओ बैंक बाहिरबाट ल्याउने संभावना पनि छ । स्रोतका अनुसार सनराइजको सीईओ सुमन शर्मा नबिल छिर्न निकै प्रयास गरिरहेका छन् ।

उता, ग्लोबल आईएमईको डेपुटी सीईओ महेश ढकाल नेपाल लाइफको सीईओ हुन लागेका छन् । ढकाललाई यसअघि ग्लोबलकै हुनेवाला प्रमुख (वेटिङ सीईओ) मानिन्थ्यो ।