राष्ट्र बैंकको निर्देशनपछि शेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार नेप्से २६ अंक भन्दा बढीले बढेको हो । नेपाल राष्ट्र बैंकले ब्याजदरमा कडाइ गरेपछि शेयर बजारले लय लिएको हो । यसअघि आइतबार सामान्य अंकले घटेको बजार सोमबार भने हरियाली छाएको छ । यसअघि बजारमा तरलता सहज बनाउन अर्थमन्त्री र गभर्नरबीच भेट भएकाले पनि बजारमा सकारात्मक लय लिएको हो ।
नेप्से परिसूचक बढेतापनि कारोबार रकम भने खुम्चिएको छ । सोमबार नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ अंकमा बन्द भएको छ । सोमबार दिनभरिमा २२८ कम्पनीको ८६ लाख ३६ हजार कित्ता शेयर ५९ हजार पटक किनबेच हुँदा ४ अबए ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार सर्वाधिक विकास बैंक समूह २.६४ प्रतिशत बढेको छ । त्यस्तै, ब्यापार समूह १.८३ प्रतिशत, होटल तथा पर्यटन समूह १.८१ प्रतिशत, इन्भेष्टमेन्ट समूह १.९६ प्रतिशतले बढेका छन् । आज कुनै पनि समूहमा राताम्य देखिएको छैन् ।
सोमबार मानुषी लघुवित्त र बोटलर्स नेपाल कम्पनीको शेयरको मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको ९.९९ प्रतिशत र मैलुङ खोला वलविद्यत कम्पनीको ९.६१ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरको मूल्य ४.८८ प्रतिशत, महालक्ष्मी विकास बैंकको ४.४६ र माउण्टेन इनर्जी नेपालको २.८४ प्रतिशतले घटेको छ ।