लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बंकले मंसिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी बैंकको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले २१ औँ वार्षिक साधारण सभा पौष ८ गते बोलाएको छ । बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेदेखि सुरू हुनेछ ।
बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ अषाढ मसान्तको वासलात तथा गत आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसुवीहरु सहायक कम्पनी समेत छलफल गरी स्वीकृत गर्ने, बैंकको लेखा परीक्षण समितिको सिफारिश वमोजिम आव २०७८–०७९ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यस्तै, उल्लिखित बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने, सञ्चालक समिति तथा अन्य समिति–उपसमितिका बैठकमा उपस्थित भएबापत अध्यक्ष तथा सञ्चालकले पाउने बैठक भत्ता बृद्धि गर्नेछ । त्यस्तै, सभाले लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सन्दर्भमा सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई दिईएको अख्तियारीलाई निरन्तरता दिईनेछ ।