अखाद्य पदार्थ बेच्ने २७ फर्म विरुद्ध मुद्दा दायर
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युनस्तर र दूषित उत्पादन बिक्री गर्ने २७ फर्म तथा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । चालु आर्थिक बर्ष ८५२ नमूना गुणस्तर परीक्षणका लागि विभागमा आएकामा ३६ वटामा प्रतिकुलता पाइएको हो । तीमध्ये २७ वटा फर्मविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् ।
विभागले दुग्ध पदार्थसँग सम्बन्धित ९, मसलाका ५ र खाद्यान्न दलहन र यसबाट बनेको पदार्थमा ५ वटा मुद्दा दायर गरिएको छ । पिउने पानीको ३, चियाका २, सोयाससमा १ र तेलमा एउटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरिएको छ । यस्तै एउटा दाना कम्पनीविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ ।
यीमध्ये ११ वटा मुद्दा दुषित,९ वटा न्युन गुणस्तर र ६ वटामा लेवल र विवरण नमिलेको पाइएको विभागका सूचना अधिकारी मोहनकृष्ण महर्जनले जानकारी दिए । यस्तै एउटा मुद्दा खाद्य ऐन निर्देशिका उलंघनसँग सम्बन्धित रहेको महर्जनले बताए ।
उनले दूध, मसला, खाद्यान्न दलहन, पानी, चिया, सस र दाना उत्पादकविरुद्ध मुद्दा दायर गरिएको विभागले आइतबार विभागमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।













