लगानी र आयोजनामा रहेका समस्या समयमै जानकारी गराउन आग्रह : अर्थमन्त्री - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लगानी र आयोजनामा रहेका समस्या समयमै जानकारी गराउन आग्रह : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरूलाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेको छ । आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तरक्रियामा उनले सो आग्रह गरेको हो ।

आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै उनले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरेको हो । ‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराएको छ’, उनले भने, ‘यस्तो जानकारी समयमै हामीलाई गराउनु पर्ने । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।’ फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने भन्दै समयमा नै सबैभन्दा ठूलो पुँजी भएको उनले बताए ।

‘प्रोजेक्टको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यवसायिक रूपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन’, उनले भने, ‘मुख्य पुँजी भनेकै समय हो ।’

नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताउदै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासन समेत दिएका छन् ।

लगानी बोर्डको उपाध्यक्ष समेत रहेका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन पनि दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्