प्राइम कमर्सियल बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुला, आवेदन कसरी दिने ? « Arthapath.com
१६ चैत्र २०७८, बुधबार

प्राइम कमर्सियल बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुला, आवेदन कसरी दिने ?



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज (चैत १६ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले निष्काशन गरेको उक्त ऋणपत्रको अवधि १० वर्षको रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकको उक्त ऋणपत्र खरिदका लागि छिटोमा चैत २१ गतेसम्म र उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ३० गतेसम्म लम्बिनेछ । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

बलेफी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत १६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा छिटोमा चैत २१ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्