भारतको मेदान्त द मेडिसिटि हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त–द मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बिहीबार दिल्लीस्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले हस्ताक्षर गरेका हुन् ।
उक्त सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४ वटा शाखा, १२५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख ५० हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट–क्रेडिट–प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले आफ्नो १५ औं बार्षिकत्सव भव्य रुपमा मनाउन विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बैशाख ७ गते बैंकको बार्षिकत्सव दिन हो ।