लकडाउनमा पनि आयात निरन्तर « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

लकडाउनमा पनि आयात निरन्तर



काठमाडौं । बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ । यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको २० दिनको रहेकोे नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो ।

उहाँका अनुसार सो अवधिमा २९ करोड पाँच लाख ७३ हजार ४६३ रुपियाँ मूल्य बराबरको ४९ लाख ४५ हजार २५ किलो चामल, चार करोड ४४ लाख छ हजार ४४३ रुपियाँको १३ लाख ४४ हजार १८५ किलो मकै तथा एक करोड ८९ लाख १६ हजार ६४३ रुपियाँको दुई लाख १४ हजार ६९७ किलो दाल नेपालगञ्ज नाका भएर भित्रिएको छ ।

प्रमुख निरौलाका अनुसार तीन करोड चार लाख ६३ हजार १२३ रुपियाँको १२ लाख दुई हजार ५०६ किलो आलु र ९२ लाख ८३ हजार ५६४ रुपियाँ बराबरको ५३ लाख ९१ हजार किलो गोलभेँडा आयात भएको छ । सोही अवधिमा दुई करोड ४७ लाख १७ हजार ३११ रुपियाँको फलफूल र ३७ लाख ५८ हजार ४४ रुपियाँको विभिन्न तरकारी पनि आयात भएको छ ।

यसैगरी सोही अवधिमा दुई करोड ४२ लाख ५५ हजार ४१२ रुपियाँको तीन लाख ५५ हजार पाँच सय किलो तोरी र आठ करोड चार लाख ९५ हजार ९७९ रुपियाँको २२ लाख ७३ हजार ५५ किलो गहुँ पनि आयात गरिएको छ ।

बन्दाबन्दीका बेला अन्य सामग्री आयात नभए पनि अत्यावश्यक सामग्री भने नियमित रूपमा आयात भइरहेको प्रमुख निरौलाले बताउनुभयो । यसै क्रममा पाँच करोड ४७ लाख ९६ हजार ८२९ रुपियाँको ११ लाख ४१ हजार ३०० किलो चिनी र १४ करोड ९९ लाख ५९ हजार ४६ रुपियाँको १४ लाख ६३ हजार ३० किलो कोइला पनि आएको छ ।

यसैगरी सोही अवधिमा १७ हजार थान एकल प्रयोगको मास्क, १९ हजार दुई सय थान एन ९५ मास्क, ७० पिस थर्मामिटर, पाँच सय थान व्यक्तिगत सुरक्षा कवच (पीपीई) र १३ हजार ३०४ किलो निर्मलीकरण सामग्री (स्यानिटाइजर) आयात गरिएको प्रमुख निरौलाले बताउनुभयो ।

सोही प्रकारले सो अवधिमा १७ करोड ५९ लाख १६ हजार १२१ रुपियाँको पेटोलियम पदार्थसमेत आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्